काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संघीय निजामती सेवा विधेयकमा भएको ‘कुलिङ पिरियड’ हेरफेरको विषयमा गम्भीर छानबिन आवश्यक रहेको बताएका छन्। यदि आफूमाथि पनि संलग्नताको आशंका छ भने खुलस्त छानबिन हुनुपर्ने उनको भनाइ छ।

मंगलबार सभामुख देवराज घिमिरेलाई ध्यानाकर्षण गराउँदै समिति सभापति खतिवडाले विधेयकको मूल मर्मबाट विचलन हुने गरी पछाडि गुपचुप रूपमा दफा थपिएको घटनाबारे गम्भीर चिन्ता व्यक्त गरे। “हामीले स्पष्ट उल्लेख गरेका थियौं कि राजीनामा वा अवकाश लिएर दुई वर्ष नपुगेका व्यक्तिलाई कुनै पनि संवैधानिक वा सरकारी नियुक्ति दिन मिल्दैन,” खतिवडाले भने, “तर त्यसको मुनि अर्को दफा थपिएर संसदमा पुगेको देख्यौं। यसले गम्भीर प्रश्न उठाएको छ।”

advertisement

उनले हेरफेर कसले, कहिले र किन गर्‍यो भन्नेबारे सत्यतथ्य पत्ता लगाई कारबाहीको दायरामा ल्याउनुपर्ने मागसमेत गरे। “यो कसको गल्ती हो? यसको यथार्थ बाहिर आउनै पर्छ,” खतिवडाको भनाइ थियो।

सभामुखको कार्यकक्षमा भएको छलफलमा कानुन तथा सामान्य प्रशासन मन्त्रालयका अधिकारीहरूलाई पनि उपस्थित गराउने प्रयास गरिएको भए पनि उनीहरू नआएकोप्रति उनले खेद व्यक्त गरे। “हामीले औपचारिक रूपमा बोलाउँदा पनि मन्त्रालयका अधिकारीहरू उपस्थित भएनन्। यत्रो गम्भीर मुद्दामा यस्तो बेवास्ता हुनु दुर्भाग्यपूर्ण हो,” उनले भने।

सभापति खतिवडाले विधेयक प्रक्रियाको अन्तिम चरणमा आइपुगेको अवस्थामा यस्ता गल्तीहरू हुनु नीतिगत, प्रशासनिक र संसदीय मर्यादामाथिको आघात भएको उल्लेख गर्दै भने, “यदि म आफैंमाथि पनि संलग्नताको आशंका छ भने, म छानबिनको लागि तयार छु। लामो छलफलबाट तयार भएको सहमतिलाई कसरी हेरफेर गरियो, त्यो पत्ता लगाउन छानबिन आवश्यक छ।”

प्रकाशित मिति: १७ असार २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com