काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संघीय निजामती सेवा विधेयकमा समावेश ‘कुलिङ अफ पिरियड’ व्यवस्था जालसाजीपूर्ण ढंगले हटाएर संसदबाट पारित गरिएको घटनालाई विश्व इतिहासकै घिनलाग्दो राजनीतिक ठगीको उदाहरण भनेका छन्।
प्रतिनिधिसभाबाट पारित विधेयकमा संसदको राज्य व्यवस्था तथा सुशासन समितिले सर्वसम्मत पारित गरेको ‘कुलिङ अफ पिरियड’को व्यवस्था लुकाएर वा हेरफेर गरेर ‘बाहेक’ भन्ने शब्द घुसेको विषय सार्वजनिक भएपछि भट्टराईले तीव्र आक्रोश व्यक्त गरेका हुन्।
सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, “सरकारी कर्मचारीहरूले अवकाश वा राजीनामा दिएपछि दुई वर्षसम्म कुनै उच्च पदमा नियुक्ति लिन नपाउने ‘कुलिङ अफ पिरियड’ भन्ने प्रावधान समितिबाट पारित भएको थियो। तर त्यो प्रावधान जालसाजीपूर्वक हटाएर संसदबाट विधेयक पारित गरिनु न केवल नेपाल, विश्वकै राजनीतिक इतिहासमा लज्जास्पद र निकृष्ट घटनामध्ये एक हो।”
उनले यस घटनालाई उच्च तहका कर्मचारी र राजनीतिक नेतृत्वबीचको साँठगाँठको प्रत्यक्ष प्रमाणको रूपमा चित्रण गरेका छन्। “यस्ता राज्यदोहन, राष्ट्रघात र जनविरोधी अपराधहरू यसअघि पनि हुँदै आएका थिए भन्ने यो ताजै उदाहरण हो,” भट्टराईले लेखेका छन्, “जति निन्दा गरे पनि कम हुन्छ।”
भट्टराईले यो घटनाले देखाएको गम्भीर विकृति सामान्य टालटुले सुधारले समाधान नहुने उल्लेख गर्दै मुलुकको समग्र राजनीतिक व्यवस्था र राज्य प्रणालीको पुनर्संरचना अपरिहार्य भइसकेको बताएका छन्। उनले फेरि पनि लोकतान्त्रिक, समाजवादी र अग्रगामी वैकल्पिक राजनीतिक दिशाको खोजी गर्न सबैलाई आग्रह गरेका छन्।
प्रकाशित मिति: १७ असार २०८२, मंगलबार













प्रतिक्रिया