काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध उम्मेदवारी दिएर चर्चामा आएका स्वतन्त्र युवा अभियन्ता सागर ढकालले रुपन्देही–३ बाट उपनिर्वाचन लड्ने संकेत दिएका छन्।

मंगलबार सामाजिक सञ्जालमार्फत विचार सार्वजनिक गर्दै ढकालले यो निर्वाचनलाई प्रमुख राजनीतिक दलहरूको ‘राणा शैलीको शासन’ विरुद्धको निर्णायक लडाइँको थालनी बनाउने समय आएको बताएका छन्।

advertisement

यद्यपि उनले औपचारिक रूपमा उम्मेदवारी घोषणा गरेका छैनन्, उनले मतदातालाई सम्बोधन गर्दै लेखेका छन्, “नेपालको नयाँ इतिहास रच्न तयार हुनुहुन्छ?” भन्दै आफू रुपन्देही–३ क्षेत्रमा केन्द्रित रहेको स्पष्ट पारेका छन्।

ढकालले काठमाडौंमा बालेन शाह र चितवनमा रवि लामिछानेले प्राप्त गरेको मत परिणाम उदाहरण दिँदै रुपन्देही–३ मा करिब ९० हजार मतदातामध्ये कम्तीमा ६२ हजार मत ल्याएर इतिहास रच्न सकिने दाबी गरेका छन्।

उनले लेखेका छन्, “अब पालो रुपन्देही–३ को हो। यहाँबाट नयाँ इतिहास सुरु गर्न सकिन्छ, यदि हामी मिल्यौं भने।”

ढकालले नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रलाई एउटै सत्तावादी सोच भएका दलको रूपमा चित्रित गर्दै ती दलहरूले देशमा राणा शासनजस्तै मानसिकता स्थापित गरेको आरोप लगाए। “कांग्रेस, एमाले र माओवादी एउटै हुन्। यिनको राणा शासन अन्त्य गर्न २०८४ सालको तयारी अहिलेबाट सुरु गर्नुपर्छ ।”

उनले नारायणगढ–बुटवल सडक खण्डको ढिलासुस्ती, न्यायालयको कमजोर अवस्था र कुलमान घिसिङसँग सम्बन्धित विवादलाई जोड्दै प्रमुख दलहरूको शासनशैलीप्रति तीव्र असन्तुष्टि जनाएका छन्।

उनको भने, “यो उपनिर्वाचन केवल रुपन्देही–३ को चुनाव होइन, यो देशभरिका नागरिकहरूको आवाज हो — जनता बनाम राणा शासन।”

ढकालले मतदातालाई यो निर्वाचनलाई आफ्नो अधिकारको प्रयोग गर्दै पुरानो राजनीतिक सोच र संरचनाविरुद्ध निर्णायक सन्देश दिने अवसरका रूपमा लिन आग्रह गरेका छन्। “अब यो चुनाव एउटा क्षेत्रको मात्र होइन, सिंगो देशको आवाज बन्नुपर्छ,” उनले भनेका छन्।

प्रकाशित मिति: १७ असार २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com