काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल गाजामा ६० दिने युद्धविरामका लागि आवश्यक शर्तहरू मान्न सहमत भएको दाबी गरेका छन्। ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा सम्झौताका क्रममा आफू  युद्ध अन्त्य गर्न सबै पक्षहरूसँग काम गर्ने उल्लेख गरेपनि विस्तृत शर्तहरू खुलाएनन्।

उनले कतार र इजिप्टले शान्ति स्थापनाका लागि धेरै प्रयास गरेको र उनीहरूले यो अन्तिम प्रस्ताव हमासलाई हस्तान्तरण गर्ने बताएको बीबीसीले जनाएको छ ।  ट्रम्पले भने, ‘मलाई आशा छ कि हमासले यो सम्झौता स्वीकार गर्छ, किनभने योभन्दा राम्रो सम्झौता आउने छैन र  स्थिति झन् खराब मात्र हुनेछ।’

advertisement

इजरायलले सन् २०२३ अक्टोबर ७ मा हमासले गरेको आक्रमणपछि गाजामा सैन्य अभियान सुरु गरेको थियो, जसमा करिब १,२०० मानिस मारिएका थिए। गाजाको हमास-शासित स्वास्थ्य मन्त्रालयका अनुसार त्यसयता गाजामा कम्तीमा ५६,६४७ मानिस मारिएका छन्। हमासले युद्धविरामका शर्तहरू स्वीकार गर्छ वा गर्दैन भन्ने तत्काल स्पष्ट छैन । मंगलबार ट्रम्पले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु   गाजामा शत्रुता अन्त्य गर्न इच्छुक रहेको बताएका थिए ।

पछिल्लो हप्ता, हमासका एक वरिष्ठ अधिकारीले बीबीसीलाई मध्यस्थकर्ताहरूले गाजामा नयाँ युद्धविराम र बन्धक रिहाइ सम्झौता गराउन प्रयास बढाएको बताएका थिए, तर इजरायलसँगको वार्ता अझै अड्किएको छ। इजरायलले हमास पूर्ण रूपमा ध्वस्त भएपछि मात्र द्वन्द्व अन्त्य हुने बताएको छ, जबकि हमासले लामो समयदेखि स्थायी युद्धविराम र गाजाबाट इजरायली सेनाको पूर्ण फिर्तीको माग गर्दै आएको छ।

हाल गाजामा करिब ५० इजरायली बन्धकहरू  रहेको मानिन्छ, जसमध्ये कम्तीमा २० जना जीवित रहेको अनुमान गरिएको छ। ट्रम्पको टिप्पणी इजरायलले उत्तरी गाजामा सैन्य कारबाही बढाउनुअघि खाली गर्न आदेश दिएको केही समयपछि आएको हो। सोमबार गाजा शहरको एक समुद्री किनारको क्याफेमा इजरायली हवाई आक्रमणमा कम्तीमा २० प्यालेस्टिनी मारिएका थिए।

प्रकाशित मिति: १८ असार २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com