काठमाडौं । एएफसी महिला एसियन कप २०२६ को छनोट अभियानमा नेपाली राष्ट्रिय महिला फुटबल टोली आज दोस्रो खेल खेल्दैछ। प्रतिस्पर्धाको मैदान हो – उज्वेकिस्तानको राजधानी तासकेन्दस्थित मिली रंगशाला। नेपाली समयअनुसार खेल साँझ ६:१५ बजे सुरु हुनेछ। नेपाल समूह ‘एफ’ मा पर्दछ, जहाँ उसले पहिलो खेलमा लाओसलाई ९–० को एकतर्फी गोलअन्तरले पन्छाउँदै विजयी सुरुआत गरेको थियो। त्यही समूहको अर्को टोली श्रीलंकाले आयोजक उज्वेकिस्तानसँग १०–० को हार बेहोरेको थियो।
इतिहास नेपालको पक्षमा नेपाल र श्रीलंकाबीच अन्तर्राष्ट्रिय प्रतियोगितामा हालसम्म सातपटक प्रतिस्पर्धा भइसकेको छ, र सबैमा नेपाल विजयी भएको छ। त्यसैले इतिहास पनि आजको खेलमा नेपालकै पक्षमा उभिएको देखिन्छ।
फिफा वरीयतामा नेपाल हाल १००औँ स्थानमा छ भने श्रीलंका १५९औँ स्थानमा रहेको छ। यो अंकले पनि दुई टोलीबीचको क्षमताको स्पष्ट संकेत गर्छ।
यो प्रतियोगिता राउन्ड रोविन प्रणालीमा सञ्चालित छ, जसमा समूहको शीर्ष टोलीले मात्र आगामी वर्ष अस्ट्रेलियामा हुने एएफसी महिला एसियन कपमा स्थान बनाउनेछ। लाओसमाथिको सानदार जितपछि नेपालको आत्मविश्वास उच्च छ, र आजको खेलमा पनि उस्तै प्रदर्शन दोहोर्याउने अपेक्षा गरिएको छ।
यदि नेपालले श्रीलंकालाई पराजित गर्न सफल भयो भने, उसले समूहको शीर्ष स्थान बलियो बनाउँदै कपको ढोका अझै नजिक्याउनेछ। प्रशिक्षक, खेलाडी र समर्थक सबैको नजर आजको निर्णायक खेलमा छ।
प्रकाशित मिति: १८ असार २०८२, बुधबार













प्रतिक्रिया