काठमाडौँ । राष्ट्रियसभाको आजको बैठक सुरु भएको छ। बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘विनियोजन विधेयक, २०८२’ पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।
त्यसअन्तर्गत राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, र राष्ट्रिय योजना आयोगको सचिवालयसम्बन्धी बजेटबारे उठेका प्रश्नहरूको जवाफ दिने कार्यक्रम पनि बैठकमा समावेश छ।
साथै, सहरी विकास, सञ्चार, ऊर्जा, भौतिक पूर्वाधार, कृषि, रक्षा, अर्थ, शिक्षा, श्रम, युवा तथा खेलकुद मन्त्रालयका बजेटप्रति सांसदहरूले उठाएका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीहरूले दिनेछन्।
आजकै बैठकमा अर्थमन्त्री पौडेलले आर्थिक विधेयक, २०८२, राष्ट्र ऋण उठाउने विधेयक, २०८२ तथा भन्सार विधेयक, २०८० माथि छलफल गरियोस् र पारित गरियोस् भन्ने प्रस्ताव पनि राष्ट्रियसभामा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
त्यस्तै, विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहितको भन्सार विधेयकसमेत बैठकमा टेबुल गरिनेछ। बैठकमा राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालले ‘संघीय निजामती सेवा विधेयक, २०८०’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभासमक्ष टेबुल गर्ने कार्यसूची पनि छ।
प्रकाशित मिति: १८ असार २०८२, बुधबार













प्रतिक्रिया