काठमाडौं । नेकपा (माओवादी केन्द्र) का प्रवक्ता अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार दीर्घकालीन नहुने दाबी गरेका छन्। उनका अनुसार सरकार सबै कोणबाट असफल भइसकेको छ र यसको आयु अब धेरै लामो रहने देखिँदैन।
बुधबार माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सापकोटाले भने, “हामी त यही सरकार चलिरहोस् भन्ने चाहनामा छौँ, तर सरकार आफैं असफल हुँदै गएको छ। हामी सरकार ढाल्न लागेका छैनौँ, हामी जनताप्रति प्रतिबद्ध छौँ।”
सापकोटाले सत्ता गठबन्धनभित्र र विशेषगरी नेपाली कांग्रेसमा गहिरो असन्तोष रहेको संकेत गर्दै भने, “सानेपामा पनि बहस र असन्तुष्टि चरममा छ। कांग्रेसभित्रको आन्तरिक विवाद र सांसदहरूको खुलेको असन्तोष तपाईंहरूकै अगाडि छ।”
उनले कांग्रेस नेतृत्वले आन्तरिक आक्रोशलाई सम्हाल्न नसकेको बताए। त्यस्तै, एमालेभित्र पनि गम्भीर अन्तर्विरोध देखिएको भन्दै उनले पार्टीभित्रको आन्तरिक लोकतन्त्र समाप्त भइसकेको टिप्पणी गरे।
“एमालेभित्रको आन्तरिक अवस्था विस्फोटनको चरणमा पुगेको छ,” सापकोटाले दाबी गरे। यद्यपि उनले सरकार कहिले ढल्छ भन्ने मिति भने तोकेनन्।
उनको भनाइ अनुसार, सत्ता संरचना बाह्य रूपमा देखिएजस्तो सुदृढ छैन, र आन्तरिक रुपमा द्वन्द्वग्रस्त छ। यसले गर्दा सरकारको दीर्घायुप्रति उनी विश्वस्त देखिएनन्।
प्रकाशित मिति: १८ असार २०८२, बुधबार













प्रतिक्रिया