काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सुरक्षाबाहेक राज्यबाट प्राप्त सबै सेवा-सुविधा फिर्ता गर्ने निर्णय गरेकी छन्। यससम्बन्धी पत्र बुधवार गृह मन्त्रालयमा दर्ता भएको छ।
भण्डारीनिकट स्रोतका अनुसार उनले आफ्नो सचिवालयमा खटिएका एक उपसचिव, एक शाखा अधिकृत र एक कार्यालय सहायक समेत फिर्ता गर्न अनुरोध गर्दै पत्र पठाएकी हुन्।
“आजैका मितिदेखि लागू हुने गरी सुरक्षाबाहेकका सबै सुविधा फिर्ता लिने उल्लेख गरिएको पत्र गृह मन्त्रालयमा दर्ता गरिएको छ।”
तर, गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले भने पत्र औपचारिक रूपमा प्राप्त नभएको बताएका छन्।
“पत्र आएको भन्ने कुरा हामीले बाहिरबाट मात्रै सुनेका छौं, तर मन्त्रालयमा अहिलेसम्म पत्र आइसकेको छैन,” तिवारीले भने।
पूर्वराष्ट्रपति भण्डारीको यो निर्णय पछिल्ला दिनमा उनीमाथि राज्य सुविधा बढी प्रयोग गरेको भन्ने आलोचनापछि आएको हो।
प्रकाशित मिति: १८ असार २०८२, बुधबार













प्रतिक्रिया