काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद अफताब आलमलाई उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जले दिएको सफाइविरुद्ध महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालतमा पुनरावेदन गर्ने भएको छ।

सहन्यायाधिवक्ता तथा प्रवक्ता सूर्यराज दाहालका अनुसार पुनरावेदनको तयारी अन्तिम चरणमा पुगेको छ। उनका अनुसार, एक साताभित्र पुनरावेदन निवेदन दर्ता गरिने छ। यसका लागि उच्च सरकारी अभियोजन कार्यालय वीरगञ्जलाई आवश्यक निर्देशन दिइसकिएको छ।

advertisement

उनले भने, “उच्च अदालतबाट केही दिनमै अभियोग तयार भएर आउने जानकारी आएको छ। त्यसपछि थप अध्ययन गरी पुनरावेदन दर्ता गरिनेछ।”

गत जेठ १४ गते न्यायाधीश खुशीप्रसाद थारु र अर्जुन महर्जनको संयुक्त इजलासले आलमसहित अन्यलाई सफाइ दिएको थियो। तर जिल्ला अदालत रौतहटले यसअघि २०८१ वैशाख १३ गते आलमसहित चार जनालाई जन्मकैदको सजाय सुनाएको थियो।

मुद्दा २०६४ सालको चैत २७ गते संविधानसभा निर्वाचनको अघिल्लो दिन भएको एक विस्फोटन घटनासँग जोडिएको हो। विस्फोटमा घाइते भएका व्यक्तिहरूलाई उपचार नगराई ईंटाभट्टाको चिम्नीमा जिउँदै जलाएर हत्या गरिएको आरोप आलममाथि लागेको थियो।

उच्च अदालतको फैसलापछि फैसलाका न्यायाधीशद्वयविरुद्ध न्यायपरिषद्मा उजुरी परेको छ। त्रिलोकप्रताप सिंह (पिन्टु) का बुवा श्रीनारायण सिंहले घटना भएको प्रमाणहरू हुँदाहुँदै सफाइ दिएको भन्दै न्यायाधीशहरूलाई कारबाही गर्न माग गर्दै उजुरी दिएका हुन्।

उक्त उजुरीका आधारमा न्यायाधीश विनोद शर्माको अध्यक्षतामा गठित एक सदस्यीय समिति मार्फत थारु र महर्जनविरुद्ध अनुसन्धान अघि बढेको छ। दुवै न्यायाधीशलाई काजमा सर्वोच्च अदालतमा ल्याइएको छ।

प्रकाशित मिति: १८ असार २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com