काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले निजामती सेवा विधेयकको छलफलका क्रममा आफूले असहज अवस्था भोग्नुपरेको बताएका छन्।
बुधवार बसेको समितिको बैठकमा बोल्दै खतिवडाले विधेयकमाथि गहिरो छलफल भइरहेकै बेला विभिन्न दबाब र हस्तक्षेप झेल्नुपरेको उल्लेख गर्दै ‘तानातानमै समिति लोगो हराएको’ भन्दै व्यंग्य गरे।
“विधेयकमा राम्रा व्यवस्था राख्दा हप्कीदप्की र थकाई खानुपर्यो,” खतिवडाले गुनासो गर्दै भने, “३ गतेको दिन सामान्य प्रशासनमन्त्रीले फोन गरेर ‘आजै पेस गर्नु भन्नुभएको छ’ भनेका थिए, तर रघुजी पन्तले रोक्नुभयो।”
उनका अनुसार उक्त दिन आफू, शिक्षामन्त्री रघुजी पन्त, सांसद दिलेन्द्र बडु तथा एक उपप्रधानमन्त्रीबीच विधेयकको विषयमा निरन्तर छलफल भइरहेको थियो। खतिवडाले विधेयकमा ‘अवकाश’ मात्रै भन्ने ठाउँमा ‘राजीनामा’ शब्द थपिएको उल्लेख गर्दै मन्त्रीले झुटा अभिव्यक्ति दिएको आरोप पनि लगाए।
“मन्त्री आफैंले मलाई धन्यवाद दिनुभएको हो, तर पछि रिपोर्ट नै नपाएको भनेर अन्तरवार्ता दिनु झुटो हो,” उनले भने।
खतिवडाले विधेयक प्रक्रियामा समिति र आफूलाई बदनाम गर्न खोजिएको आरोप पनि लगाए।
“सबै कर्मचारी खराब छैनन्, तर केही कर्मचारी आफैं मात्र फाइदा उठाउने नियतमा छन्। समितिलाई बदनाम गर्न योजनाबद्ध प्रयास भएको देखिन्छ,” उनले भने।
प्रकाशित मिति: १८ असार २०८२, बुधबार













प्रतिक्रिया