काठमाडौं । नेकपा एमालेका सांसद वासुदेव घिमिरेले निजामती सेवा विधेयकको ‘कुलिङ पिरियड’ विवादप्रति कडा असन्तोष जनाएका छन्। उनले राज्य व्यवस्था तथा सुशासन समितिको सदस्य हुँ भन्न पनि लाज लाग्ने अवस्था आएको टिप्पणी गरेका छन्।
बुधबार बसेको समितिको बैठकमा बोल्दै घिमिरेले कुलिङ पिरियड प्रावधानमा भएको चलखेलका कारण सांसदहरूप्रति आम नागरिकले गिज्याउने, व्यंग्य गर्ने अवस्था सिर्जना भएको बताएका हुन्।
“दुई वर्षको कुलिङ पिरियड हटाउने विषयमा भैलो खेल्न गएकाहरू पनि अब छानबिनको घेरामा आउनुपर्छ,” उनले भने। “यो सामान्य विषय होइन, सिङ्गो संसद्को अवहेलना भएको छ।”
उनले नागरिकबाट अत्यधिक आलोचना आएको उल्लेख गर्दै आफूहरूले छलकपट गरेर कानुन पास गरेको आरोप लागेका कारण सांसदहरूको बेइज्जती भएको पीडा सुनाए।
“सार्वजनिक रूपमा गालीको वर्षा भइरहेको छ, जनताको नजरमा हामी विश्वसनीय छैनौं भन्ने सन्देश गएको छ,” सांसद घिमिरेले बैठकमा भने।
प्रकाशित मिति: १८ असार २०८२, बुधबार













प्रतिक्रिया