काठमाडाैं । ढाकाकाे बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलनासम्बन्धी मुद्दामा ६ महिनाको जेल सजाय सुनाइएको छ। न्यायाधीश मोहम्मद गोलाम मोर्तुजा मजुमदारको नेतृत्वमा रहेको तीन सदस्यीय इजलासले बुधबार उक्त फैसला सुनाएको हो।

मुद्दा सन् २०२३ को अक्टोबरमा हसिना र गाइबान्धा गोबिन्दगञ्जका स्थानीय नेता शाकिल अकन्द बुलबुलबीचको कथित टेलिफोन संवाद लीक भइ भाइरल भएपछि सुरु भएको हो। लीक भएको अडियोमा हसिनाले आफूमाथि दर्ता भएका २२७ वटा मुद्दाको उल्लेख गर्दै “त्यति व्यक्तिलाई मार्न अनुमति प्राप्त भएको” भन्ने विवादास्पद अभिव्यक्ति दिएको सुनिन्छ।

advertisement

सोही प्रकरणमा शाकिल अकन्द बुलबुललाई पनि दुई महिनाको जेल सजाय सुनाइएको छ। उनी हसिनाको पार्टी अवामी लिगको विद्यार्थी संगठन ‘छात्र लिग’ का नेता हुन्।

शेख हसिना १९९६ देखि २००१ र पुनः सन् २००९ देखि २०२४ सम्म बंगलादेशकी प्रधानमन्त्री रहेकी थिइन् ।  तर २०२४ को अगस्टमा विद्यार्थी नेतृत्वमा सुरु भएको सरकारी कोटा सुधार आन्दोलन हिंसात्मक बन्दै गएपछि उनी भारतको नयाँ दिल्लीतर्फ निर्वासनमा गइन्।

संयुक्त राष्ट्रसंघको मानवअधिकार कार्यालयको प्रतिवेदन अनुसार २०२४ को जुलाई १५ देखि अगस्ट १५ को एक महिनाको अवधिमा करिब १,४०० जनाको ज्यान गएको थियो। यसपछि हसिनामाथि हालसम्म १५२ वटा मुद्दा दर्ता भएका छन् — जसमध्ये १३५ हत्या, ७ मानवताविरुद्धको अपराध, ६ हत्याको प्रयास, ३ अपहरण र १ विपक्षी बीएनपी पार्टीमाथिको आक्रमणसम्बन्धी छन्।

भारतमा निर्वासनमा रहेकी हसिनालाई फर्काउन बंगलादेश सरकारले औपचारिक अनुरोध गरिसकेको छ, तर उनले यी सबै आरोपहरूलाई राजनीतिक प्रेरित भन्दै अस्वीकार गरेकी छन्।

उनकी पार्टी अवामी लिग हाल प्रतिबन्धित छ, र देशमा नोबेल पुरस्कार विजेता मुहम्मद युनूसको नेतृत्वमा अन्तरिम सरकार सञ्चालनमा रहेको छ।

अदालतको यो फैसलाले बंगलादेशको राजनीतिमा चर्को बहस निम्त्याएको छ। कतिपयले यसलाई ‘न्यायको विजय’ भनेका छन् भने, अर्कोतर्फ आलोचकहरूले यसलाई ‘राजनीतिक हिसाबकिताब’ भन्दै हसिनाविरुद्धको बदला भनेका छन्।

प्रकाशित मिति: १८ असार २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com