काठमाडौं । कर्णाली विकास बैंक घोटालामा पक्राउ परेका पशुपति दयाल मिश्र नेकपा एमालेका केन्द्रीय सदस्य रहेको खुलेको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बुधबार उनलाई नेपालगञ्जबाट पक्राउ गरेको हो। मिश्रलाई हाल बाँकेमा राखेर अनुसन्धान अघि बढाइएको सीआईबीका प्रवक्ता तथा एसपी युवराज खड्काले जानकारी दिए।
मिश्र नेकपा एमालेका केन्द्रीय सदस्य मात्र नभई जिविस (जिल्ला विकास समिति) सभापति समेत भइसकेका व्यक्ति हुन्। उनी वि.सं. २०६६ देखि २०७५ सालसम्म कर्णाली विकास बैंकको अध्यक्ष पदमा थिए।
मधेश आन्दोलनबाट राजनीतिमा उदाएका मिश्र २०७४ सालको प्रतिनिधिसभा चुनावमा बाँके क्षेत्र नं. २ बाट स्वतन्त्र समूहको तर्फबाट सूर्य चुनाव चिन्ह लिएर उम्मेदवार बनेका थिए। तर उनी त्यस निर्वाचनमा पराजित भए।
निर्वाचनपछि एमालेमा प्रवेश गरेका मिश्रलाई पार्टीले नेपालगञ्ज उपमहानगरपालिकाको मेयर पदका लागि टिकट दिएको थियो। तर त्यो चुनावमा पनि उनी पराजित भए। अहिले सो नगरपालिकामा नेपाली कांग्रेसका प्रशान्त विष्ट मेयर छन्।
मिश्रको नाम बैंकिङ घोटालासँग जोडिएपछि पक्राउ परिनुका साथै उनी राजनीतिक रूपमै प्रभावशाली व्यक्ति रहेको तथ्य सार्वजनिक भएपछि यो प्रकरणले थप राजनीतिक तरंग ल्याएको छ।
प्रकाशित मिति: १८ असार २०८२, बुधबार













प्रतिक्रिया