काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहन बस्नेतले पार्टी महामन्त्री गगन कुमार थापालाई आफ्ना ‘मुख्य विरोधी’ भएको आरोप लगाउँदै सचेत रहन आग्रह गरेका छन् ।
बुधवार पार्टी मुख्यालयमा बसेको केन्द्रीय बैठकमा बोल्दै बस्नेतले टेरामक्स प्रकरणमा थापाले प्रतिनिधि सभामा ‘आक्रामक ढंगले’ आफूविरुद्ध अभिव्यक्ति दिएको दाबी गरे। उनका अनुसार यही कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफूमाथि अनुसन्धान अघि बढाएको छ।
“महामन्त्री गगनजी, तपाईंले सबै नेतालाई पक्राउ गराउन खोज्नुस् , अन्त्यमा कसैलाई पनि सग्लो देखाउन गाह्रो पर्छ,” बस्नेतले बैठकमै चेतावनी दिए।
बस्नेतले नेपालमा ‘एकअर्कालाई भ्रष्टाचारको मुद्दा लगाएर निष्क्रिय बनाउने’ प्रवृत्ति बलियो बन्दै गएको टिप्पणी गर्दै, त्यसले पार्टी मात्र होइन, समग्र लोकतान्त्रिक व्यवस्थामै नकारात्मक असर पार्ने चेतावनी पनि दिए।
टेरामक्स प्रकरणमा आफूले कुनै अवैध काम नगरेको पुनः दोहोर्याउँदै उनले समयसाथ सत्य बाहिर आउने दाबी गरे। “गल्ती नगरेको विषयमा जति राजनीतिक दबाब आए पनि डराउने छैन,” बस्नेतको भनाइ थियो।
प्रकाशित मिति: १८ असार २०८२, बुधबार













प्रतिक्रिया