डडेल्धुरा । गृहमन्त्री रमेश लेखकले सत्ता गठबन्धनलाई आगामी वर्ष २०८४ को आमनिर्वाचनसम्म निरन्तरता दिनु आवश्यक रहेको बताएका छन्। बुधबार डडेल्धुरामा पार्टी कार्यकर्तासँगको भेटघाट कार्यक्रममा उनले कांग्रेस–एमाले गठबन्धनलाई समयको आवश्यकता भन्दै यसमा कुनै विकल्प नरहेको जिकिर गरे।
गृहमन्त्री लेखकले भने, “मैले पार्टीको केन्द्रीय समिति बैठकमा पनि स्पष्ट रूपमा भनेको छु— २०८४ सम्म गठबन्धनलाई कायम राख्नुपर्छ। सरकारले काम गर्न थालेको पनि एक वर्ष हुन लागिसक्यो। अहिले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली हुनुहुन्छ, एक वर्षपछि हाम्रो सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुहुनेछ। २०८४ को निर्वाचन पनि शेरबहादुर दाइको नेतृत्वमा हुनेछ।”
उनले वर्तमान सत्ता गठबन्धन मुलुकको आवश्यकताबाट उत्पन्न भएको बताए। “हाम्रा सबै गतिविधि, कार्यशैली र निर्णय यसै अनुसार हुनुपर्छ। राजनीतिक मुद्दामा हामीले गम्भीर ध्यान दिन जरुरी छ,” मन्त्री लेखकले जोड दिए।
यस्तै, पछिल्लो समय आफू राजनीतिक षड्यन्त्रको निशानामा परेको उनले खुलासा गरे। “राजनीतिमा षड्यन्त्र त भइरहन्छन्। अहिले म पनि षड्यन्त्रको एम्बुसमा परेको छु,” उनले भने। “मान्छेहरूका आ-आफ्नै राजनीतिक स्वार्थ छन्— सरकारलाई, समीकरणलाई, कांग्रेसलाई कसरी कमजोर पार्न सकिन्छ भन्ने सोचले षड्यन्त्र गरियो। एक कार्यालयका कर्मचारीमाथि भएको अनुसन्धानलाई मन्त्रीसँग जोडिनु नियतपूर्ण हो। यो क्रमशः स्पष्ट हुँदै गइरहेको छ।”
त्यस्तै, अध्यागमन विभागमा देखिएको समस्याको समाधानका लागि सरकार र प्रतिपक्षबीचको सहमतिअनुसार उच्चस्तरीय समिति गठन गरिएको पनि उनले जानकारी दिए।
सुदूरपश्चिमको विकासबारे बोल्दै गृहमन्त्री लेखकले भने, “सरकार सुदूरपश्चिमको समग्र विकासका लागि सक्दो प्रयासरत छ। सबै तवरबाट योजना र कार्यक्रममार्फत यो क्षेत्रको समृद्धि सुनिश्चित गर्न हामी प्रतिबद्ध छौं।”
प्रकाशित मिति: १८ असार २०८२, बुधबार












प्रतिक्रिया