काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता साझेदारीको सहमति अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्न आफू तयार रहेको बताएका छन्।

बुधबार राति म्याड्रिडस्थित नेपाली राजदूत निवासमा आयोजित प्रवासी नेपाली मञ्च निकटका कार्यकर्ताहरूसँगको अन्तरक्रियामा प्रधानमन्त्री ओलीले उक्त भनाइ राखेका हुन् ।

advertisement

भेटमा स्पेन र पोर्चुगलबाट आएका करिब ४० जना कार्यकर्ता सहभागी थिए।

प्रवासी नेपाली मञ्च युरोपका अध्यक्ष मुक्तबहादुर गुरुङका अनुसार, प्रधानमन्त्री ओलीले भने, ‘देशमा स्थायित्वका लागि दुई ठूला दलबीच सहकार्य गरिएको हो।अहिलेको सरकार स्थायित्वका निम्ति बनाइएको हो। आगामी निर्वाचनमा एमाले र कांग्रेस प्रतिस्पर्धी हुनेछन्। त्यसैले अहिलेको सहकार्यलाई २०४६ सालको साझा आन्दोलनकै भावनाबाट हेर्नुपर्छ।’

ओलीले वर्तमान सरकारको संरचना गठबन्धनको स्पष्ट सहमतिअनुसार बनेको भन्दै सत्ता हस्तान्तरणबारे अन्योल नरहेको बताए। ‘मैले दुई वर्ष सरकारको नेतृत्व गर्ने कुरा हो । तर, त्यो अवधि सकिएपछि मात्र हस्तान्तरण गर्नुपर्छ भन्ने छैन, बरु १०र१५ दिन अगावै पनि देउवाजीलाई पद सुम्पिन्छु’, अध्यक्ष गुरुङले ओलीको भनाइ उद्धृत गर्दै बताए।

प्रधानमन्त्री ओलीले स्थायी रूपमा युरोपमा सेटल भइसकेका नेपालीलाई शुभकामना दिंदै अस्थायी रूपमा बसिरहेका र कठिनाइ भोगिरहेका नेपालीलाई नेपाल फर्केर आधुनिक कृषिमा अवसर खोज्न पनि सुझाव दिएका थिए । ‘बाँझो जमिनमा कृषिका राम्रा सम्भावना छन्। धेरै साथीहरू फर्किएर त्यसमा लाग्नुभएको छ’, गुरुङले ओलीको भनाइ उद्धृत गर्दै भने।

प्रकाशित मिति: १९ असार २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com