काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले संवैधानिक आयोगमा भएका नियुक्तिविरुद्ध दायर मुद्दा सर्वोच्च अदालतबाट खारेज भएपछि आयोगहरूको कामकाजमा अब तीव्रता आउने विश्वास व्यक्त गरेका छन्।
झन्डै साढे चार वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले दुई चरणमा विभिन्न संवैधानिक निकायमा गरेका ५२ पदाधिकारीको नियुक्ति सर्वोच्च अदालतले सदर गरेसँगै उत्पन्न अन्योल हटेको हो। बुधबार मध्यराति भएको उक्त फैसलापछि महासचिव पोखरेलले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन्।
पोखरेलले बिहीबार बिहान फेसबुकमा लेखेका छन्, “संवैधानिक आयोगमा भएको नियुक्ति उपर परेको मुद्दाका कारण उत्पन्न अन्योल अन्त्य भएको छ। अब ती निकायको काममा तीव्रता आउने अपेक्षा गरौं।”
सर्वोच्च अदालतको संवैधानिक इजलास—प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार चुडाल, मनोजकुमार शर्मा र नहकुल सुवेदीको संयुक्त इजलासले रिट निवेदन खारेज गर्दै नियुक्तिलाई वैधानिक ठहर दिएको हो।
यो फैसलासँगै संवैधानिक निकायहरूमा लामो समयदेखि देखिएको अन्योलको समाप्ति भएको र अब ती निकायहरू सक्रिय भएर काममा लाग्ने अपेक्षा गरिएको छ।
प्रकाशित मिति: १९ असार २०८२, बिहिबार













प्रतिक्रिया