काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीको विधानमा चर्चा हुँदै आएको दुई कार्यकालको सीमा र ७० वर्षे उमेरको सिमा हटाइसकिएको स्पष्ट पारेका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले महाधिवेशनमा पारित विधान र त्यसपछि प्रकाशित विधानबीच देखिएको भिन्नतालाई आधार बनाएर ‘विधानमा छलछाम भएको’ भन्ने प्रचारप्रति आपत्ति जनाएका छन्।
पोखरेलका अनुसार, २०७८ भदौमा गोदावरीमा सम्पन्न विधान महाधिवेशनले पारित गरेको प्रारम्भिक विधानलाई २०७८ मंसिरमा चितवनमा सम्पन्न १०औं राष्ट्रिय महाधिवेशनले संशोधन गरेको हो। मंसिर ८ गते सौराहामा मध्यरातमा बसेको केन्द्रीय कमिटी बैठकले विधानमा उल्लेखित दुई कार्यकालको सीमा हटाउने र केन्द्रीय कमिटीको सदस्य संख्या १९९ बाट बढाएर २९९ बनाउने निर्णय गरेको उनले स्मरण गराए।
यो निर्णय महाधिवेशनको मंसिर ११ गते बसेको बन्द सत्रमा प्रस्ताव रूपमा प्रस्तुत गरिएको थियो र उक्त प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको थियो। यही संशोधित विधानअनुसार डा. पुष्प कँडेल लेखा आयोगको अध्यक्षमा तेस्रो कार्यकालका लागि निर्वाचित भएको पोखरेलले जानकारी दिए।
त्यस्तै, ७० वर्षे उमेर हदसम्बन्धी व्यवस्था नयाँ प्रवेशीहरूको व्यवस्थापन गर्न ल्याइएको भए पनि पछि सचिवालयको निर्णय र त्यसको आधारमा केन्द्रीय कमिटीको सहमतिअनुसार हटाइएको पोखरेलले स्पष्ट पारेका छन्।
महासचिव पोखरेलले विधान प्रक्रियालाई प्रष्ट पार्दै यसमा कुनै प्रकारको छलछाम नभएको र सबै निर्णय पार्टीको विधिसम्मत प्रक्रियामार्फत गरिएको जिकिर गरेका छन्।
प्रकाशित मिति: १९ असार २०८२, बिहिबार













प्रतिक्रिया