काठमाडौं । नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्रीले अध्यक्ष माधवकुमार नेपालविरुद्ध बोलेको भन्दै आफूलाई पार्टीले कुनै स्पष्टीकरण नसोधेको स्पष्ट पारेकी छन्।

बिहीबार पार्टी केन्द्रीय कार्यालय आलोनगरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै झाँक्रीले पार्टीभित्रबाटै आफूविरुद्ध भ्रम फैलाइएको गुनासो गरिन्। “अध्यक्षविरुद्ध बोलेको भनेर स्पष्टीकरण सोधिएको भन्ने हल्लामा कुनै सत्यता छैन,” उनले भनिन्, “स्पष्टीकरण त मलाई अहिलेसम्म कसैले मागेको छैन।”

advertisement

उनले केही प्रभावशाली पदाधिकारीहरूले टेलिभिजन र मिडियामार्फत ‘स्पष्टीकरण सोधिएको’ जस्ता भ्रमपूर्ण प्रचार गरेको आरोप लगाइन्। “टेलिभिजनमा स्पष्टीकरण सोधिन्छ, पार्टीबाट निकालिन्छ भन्ने सुनियो। मैले बोलेको विषयवस्तुका आधारमा १५ गतेभित्र कुनै प्रतिक्रिया नजनाउन निर्देशनसमेत आएको थियो,” उनले भनिन्।

झाँक्रीले पार्टीलाई क्षति नहोस् भनेर सचिवालय बैठकमै आफ्नो पक्ष स्पष्ट पार्न निवेदन दिँदै उपस्थित भएको जानकारी पनि दिइन्। “पार्टीलाई घाटा नहोस् भन्ने सोचले सचिवालय बैठकमै बोलाउनुस् भनेर निवेदन लिएर आएकी हुँ,” उनले भनिन्।

हालै बुटवलमा पार्टी निकट युवा संगठनद्वारा आयोजित प्रशिक्षण कार्यक्रममा झाँक्रीले दिएको “मरेको सिनो काँधमा बोकेर हिँड्न सकिँदैन, अध्यक्ष फेरौं” भन्ने अभिव्यक्तिले व्यापक चर्चा पाएको थियो।

त्यसपछि पार्टी महासचिव घनश्याम भुसालले सार्वजनिक रूपमा नेताहरूले मर्यादित भाषा प्रयोग गर्नुपर्ने भन्दै झाँक्रीको अभिव्यक्तिप्रति असन्तोष जनाएका थिए।

झाँक्रीले भने आफूले पार्टीलाई आन्तरिक रूपमा सुदृढ बनाउने उद्देश्यले आवाज उठाएको र कुनै पनि भ्रम नफैलियोस् भनेर आफू पार्टी नेतृत्वसमक्ष प्रत्यक्ष उपस्थित भएर स्पष्टिकरण दिन तयार रहेको संकेत गरेकी छन्।

प्रकाशित मिति: १९ असार २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com