काठमाडौं । एसिसी मेन्स यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधिका लागि नेपाल र सिंगापुरबीच शनिबार प्रतिस्पर्धा हुने भएको छ।
बिहीबार सम्पन्न सेमिफाइनल खेलमा दुवै टोलीले शानदार प्रदर्शन गर्दै फाइनल यात्रा तय गरेका हुन्।
सिंगापुरले हङकङलाई ४ विकेटले पराजित गर्दै उपाधि भिडन्तमा स्थान बनाउँदा नेपालले घरेलु टोली मलेसियामाथि ९ विकेटको सहज जित दर्ता गर्यो।
फाइनल खेल मलेसियाको बांगी मैदानमा हुनेछ।
यसअघि, समूह चरणको खेलमा पनि नेपाल र सिंगापुर आमनेसामने भएका थिए। उक्त खेलमा नेपालले सिंगापुरलाई ६ विकेटले हराएको थियो। सिंगापुरले दिएको १३९ रनको लक्ष्य नेपालले ३३.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको थियो।
नेपालका प्रसिद्ध जैशीले उक्त खेलमा नटआउट ५५ रनको अर्धशतकीय इनिङ खेलेका थिए। उनले ९७ बलमा ५ चौका प्रहार गर्दै नेपाललाई जिततर्फ डोरेका थिए।
बलिङतर्फ कप्तान विपिनप्रसाद शर्माले उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट लिएका थिए। सिंगापुरको टोली ३६.१ ओभरमा १३८ रनमै समेटिएको थियो।
समूह चरणमा नेपालले जापान, इन्डोनेसिया र भुटानलाई पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो।
अब, उपाधिका लागि शनिबार नेपाल र सिंगापुरबीच रोमाञ्चक भिडन्त हुने निश्चित छ।
प्रकाशित मिति: १९ असार २०८२, बिहिबार













प्रतिक्रिया