काठमाडौं । इँटाभट्टाको कठिन श्रमबीच एसईईमा ४.० जीपीए ल्याएर प्रेरणाको पात्र बनेकी गोमा श्रेष्ठलाई भाटभटेनी सुपरमार्केटका अध्यक्ष तथा समाजसेवी मीनबहादुर गुरुङ र उनकी पत्नी सावित्री गुरुङले एमबीबीएससम्मको अध्ययन खर्च बेहोर्ने घोषणा गरेका छन्।

बिहीबार भाटभटेनीस्थित कार्यालयमा आयोजित कार्यक्रममा गोमालाई बोलाएर गुरुङ दम्पतीले उनलाई एक लाख रुपैयाँ नगद, एउटा ल्यापटप र सम्मानपत्र प्रदान गरेका हुन्।

advertisement

गुरुङले गोमालाई कक्षा ११ र १२ का लागि सेन्ट जेभियर्स कलेज, माइतीघरमा अध्ययन गराउने र त्यसपछि एमबीबीएससम्मको सम्पूर्ण शैक्षिक खर्च आफूले व्यहोर्ने प्रतिबद्धता जनाए।

यसअघि पनि गुरुङले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमार्फत देशका विभिन्न दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई एमबीबीएस अध्ययन गराउँदै आएका छन्। अब सोही सूचीमा गोमा श्रेष्ठ पनि थपिएकी छन्।

चाँगुनारायण नगरपालिका–८, सुडालस्थित एक इँटाभट्टामा काम गर्दै आएकी गोमा बिहान–साँझ इँटा सुकाउने कामसँगै अध्ययन पनि गरिरहेकी थिइन्। विषम परिस्थितिमा पनि उच्च नतिजा ल्याएकी उनी सार्वजनिक चासोको केन्द्रमा आएकी थिइन्।

गोमाले सानैदेखि डाक्टर बन्ने सपना देखेकी थिइन्। तर आर्थिक अभावका कारण भविष्य अन्योलमा परेको बेला गुरुङ दम्पतीको सहयोगले उनको सपना साकार हुने आशा बढेको छ।

प्रकाशित मिति: १९ असार २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com