काठमाडौं ।  आगामी कात्तिक १७ गते हुने रुपन्देही क्षेत्र नम्बर–३ को उपनिर्वाचनमा उम्मेदवार चयन प्रक्रिया तय गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तयारी अघि बढाएको छ।

बिहीबार पार्टी कार्यालय वनस्थलीमा बसेको सचिवालय बैठकले योग्य उम्मेदवार छनोटका लागि प्रस्तावित विधिमाथि छलफल गर्दै त्यसको अन्तिम निर्णय आउँदो आइतबारको बैठकमा गर्ने निर्णय गरेको हो।

advertisement

पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार बैठकमा ‘उम्मेदवार कसरी छनोट गर्ने’ भन्ने विधि प्रस्ताव गरिएको छ। “केही उम्मेदवारहरूको नाम प्रस्ताव भइसकेका छन्, केही आउन बाँकी छन्,” उनले भने, “तर व्यक्तिमा प्रवेश नगरी विधिको माध्यमबाट छनोट गर्ने निर्णय भएको छ।”

बुर्लाकोटीका अनुसार उम्मेदवार छनोटका लागि प्राथमिक चुनाव (प्राइमरी इलेक्सन) अनिवार्य प्रक्रिया हुने छ। यस प्रक्रियामा स्थानीय तहका सदस्यहरूको समेत सहभागिता हुने गरी विधि तयार पारिनेछ।

“उम्मेदवार छनोट विधि नै बनाएर जानुपर्छ भन्नेमा सहमति भएको छ,” उनले भने, “व्यक्तिको नाममा प्रवेश गरिएको छैन, सागर ढकाल वा कुलमान घिसिङ जस्ता नामहरू आएपनि त्यसबारे निर्णय नभइसकेको हो।”

अब आइतबार बस्ने पार्टी सचिवालयको बैठकले उम्मेदवार छनोट विधिलाई अन्तिम रूप दिने र त्यसअनुसार योग्य उम्मेदवार छनोट प्रक्रिया अघि बढाउने तयारी रहेको छ।

प्रकाशित मिति: १९ असार २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com