काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अत्याधुनिक प्रविधिसहितको हवाई इन्धनगृह डिपो निर्माण भएको छ । तीन महिनालाई इन्धन भण्डारणगृह निर्माण गर्ने सरकारको नीति अनुसार पहिलो चरणमा नेपाल आयल निगमले सो डिपो निर्माण गरेको हो ।
निगमले ५५ वर्षपछि आफ्नै लगानी र सिपको प्रयोग गरी डिपो निर्माण गरेको हो । भ्याटबाहेक ७५ करोड रुपियाँको लागतमा तीन हजार छ सय किलोलिटर क्षमताका तीन वटा ट्याङ्कीसहित भौतिक पूर्वाधार निर्माण गरिएको निगमले जनाएको छ । उडान सुरक्षालाई ध्यानमा राख्दै अत्याधुनिक मापदण्ड अनुसारको नियन्त्रण कक्ष, कार्यालय, अग्नि शमन प्रणालीलगायतका पूर्वाधार निर्माण गरिएको छ । आगलागी भएको खण्डमा स्वचालित उपकरणबाट पानीको फोहोरा हालेर निभाउने प्रविधि यसमा जडान गरिएको छ ।
पोखरा विमानस्थल हवाई इन्धन डिपो परियोजना प्रमुख प्रदीपकुमार यादवले निगमको इतिहासमा पहिलो पटक स्वदेशी प्रविधि, स्वदेशी डिजाइन र ठेकेदारको सहयोगमा यो डिपो तयार भएको जानकारी दिए । यसको विस्तृत परियोजना प्रतिवेदन पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानले तयार पारेको हो ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको जग्गा भाडामा लिएर विमानस्थलको दक्षिणी क्षेत्रको ३२ हजार ९१५ वर्गमिटर क्षेत्रफलमा यो हवाई इन्धन डिपो निर्माण भएको छ । इन्धन डिपो निर्माणको प्रक्रिया २०७५ सालदेखि सुरु भए पनि २०८० साउनमा मात्र औपचारिक शिलान्यास गरिएको थियो ।
प्रकाशित मिति: २० असार २०८२, शुक्रबार













प्रतिक्रिया