काठमाडौं । तीन खण्डमा विभाजन गरेर स्तरोन्नति थालिएको नागढुंगा–नौबिसे सडक खण्डअन्तर्गतको पहिलो खण्डमा पहिलो तहको कालोपत्रको काम सकिएको छ । नागढुंगादेखि मुग्लिनसम्मको ९४ दशमलव ६६ किमि सडकलाई तीन खण्डमा विभाजन गरेर स्तरोन्नति भइरहेको छ ।
१२।२६ किमिको पहिलो खण्डमा नागढुंगा–नौबिसे पर्छ । यही खण्डमा दोस्रो तहको कालोपत्र गर्ने काम पनि ५।५ किमि सकिइसकेको छ । तेस्रो तहसम्म सडक कालोपत्र गरिन्छ ।
बाँकी कालोपत्रको काम बर्खापछि मात्र थालिने नागढुंगा–मुग्लिन सडक योजना पूर्वी खण्डका प्रमुख केशवप्रसाद ओझाले बताए । यो खण्ड भएर दैनिक १२ हजार सवारीसाधन ओहोरदोहोर गर्छन् । झ्याप्लेखोलामा विशेष प्रकृतिको स्लोब स्टेबलाइजेसन ९पहिरो नियन्त्रण० को काम भइरहेको छ । यसको काम सकिएपछि मात्र त्यस खण्डमा कालोपत्र गरिनेछ ।
नागढुंगा–नौबिसे खण्डको समग्र भौतिक प्रगति ८४ प्रतिशत छ । यस खण्डको स्तरोन्नतिको ठेक्का १ अर्ब ३० करोड रुपैयाँमा जाङ्सु–सगुन जेभीले पाएको छ । यही खण्डको खानीखोलामा पैदलयात्रीका लागि अपांगमैत्री अकासे पुल बनाउन लागिएको नागढुंगा–मुग्लिन सडक योजना पूर्वी खण्डका प्रमुख केशवप्रसाद ओझाले जनाए ।
दोस्रो खण्डमा पर्छ, नौबिसे–मलेखु खण्ड । यसको दूरी ४३।५४ किमि छ । यस खण्डको ठेक्का ५ अर्ब ३३ करोड १९ लाखमा जेडआईसीजी–शर्मा–लामा जेभीले लिएका हुन् । यसको भौतिक प्रगति ४२ प्रतिशत मात्र छ । यस खण्डमा दुवैतर्फी गरेर १३ किमि सडकमा पहिलो तहको कालोपत्र गरिएको छ ।
प्रकाशित मिति: २० असार २०८२, शुक्रबार













प्रतिक्रिया