काठमाडौं । कूलिङ पिरियडसम्बन्धी विवादित निर्णयमा प्रश्न उठेपछि संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले आफू छानबिन सम्पन्न नभएसम्म समितिको बैठकमा सहभागी नहुने बताएका छन्।

सभापति खतिवडाले सभामुख देवराज घिमिरेले संसदीय छानबिन समिति गठनको प्रक्रिया अघि बढाएको र समिति गठन भएपछि आफू बैठकमा उपस्थित नहुने स्पष्ट पारे। “म सभापति वा सदस्यको रूपमा उपस्थित भए प्रमाण नष्ट गर्न सक्ने शंका उठ्न सक्छ,” उनले भने, “त्यसैले निष्पक्ष छानबिनका लागि म छानबिन नसकिँदासम्म बैठकमा भाग लिँदिन।” खतिवडाले छानबिन सम्पन्न नहुँदासम्म सरकारी सवारीको प्रयोग समेत नगर्ने निर्णय पनि गरेको जनाए।

advertisement

सभामुख घिमिरेले मुख्य दलका प्रमुख सचेतकहरूसँग बिहीबारको छलफलमा छानबिन समितिको कार्यक्षेत्र र सदस्य चयनबारे परामर्श गरेका थिए।

यसअघि राज्य व्यवस्था समितिले कूलिङ पिरियडसम्बन्धी त्रुटिपूर्ण निर्णय सच्याउन राष्ट्रिय सभामा अपिल गर्ने निर्णय गरिसकेको छ। सो विवादपछि समितिका सचिव सुरजकुमार दुराले समितिको बैठकबाट बाहिरिने घोषणा गरेका थिए। बुधबार करिब पाँच घण्टा लामो बैठकमा केही सदस्यले सचिव दुरालाई जिम्मेवारीबाट हट्न सुझाव दिएपछि उनले आफ्नो भूमिकाबाट अलग भएको बताएका हुन्।

तर, सभापति खतिवडाले दुराले सचिव पद त्यागको औपचारिक पत्र संघीय संसद सचिवालयमा अझै नदिएको जानकारी गराएका छन्।

प्रकाशित मिति: २० असार २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com