काठमाडौं । इजरायली आक्रमणका कारण गाजा क्षेत्रमा पुनः ठूलो संख्यामा जनधनको क्षति भएको छ। उद्धारकर्मीहरूका अनुसार बिहीबार मात्र इजरायली सेनाको आक्रमणमा परी कम्तीमा ६९ जना सर्वसाधारणको ज्यान गएको छ। इजरायलले पछिल्ला दिनमा गाजामा हवाई तथा तोपखाना आक्रमण तीव्र बनाएको छ।

हमासको नागरिक रक्षा एजेन्सीले जानकारी गराएअनुसार, विस्थापित परिवारहरू बसेको आश्रयस्थल नजिकै भएको इजरायली हवाई बमबारीमा १५ जनाको मृत्यु भएको छ, जसमा महिलाहरू र बालबालिकाको संख्या उच्च रहेको बताइएको छ।

advertisement

इजरायली सेनाले यस आक्रमणमा हमासका एक प्रमुख सदस्यलाई निशाना बनाइएको दाबी गरेको छ। तर, गाजास्थित नागरिक सुरक्षा निकायले राहतका लागि लाइनमा बसेका वा सहायता खोज्न गएका ३८ जना नागरिकको पनि मृत्यु भएको पुष्टि गरेको छ।

इजरायली सेनाले भने, ठूलो संख्यामा हताहत भएको रिपोर्टलाई खारेज गर्दै ती विवरणहरू अतिरञ्जित भएको दाबी गरेको छ।

यो हिंसात्मक घटना इजरायल र हमासबीच युद्धविराम तथा बन्धक मुक्तिको सम्भावित सम्झौता हुने भनिएको संवेदनशील समयमा भएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार इजरायलले ६० दिनको युद्धविराम प्रस्तावमा सैद्धान्तिक सहमति जनाएको बताएका थिए। तथापि, उक्त सम्झौता कार्यान्वयनमा अवरोधहरू अझै बाँकी रहेको देखिएको छ।

हमासले भने प्रस्तावको अध्ययन भइरहेको जानकारी दिएको छ तर संगठनले युद्धको पूर्ण अन्त्य र गाजाबाट इजरायली सेना पूर्णरूपमा हट्नुपर्ने मागमा अडिग रहेको स्पष्ट पारेको छ।

यसैबीच, इजरायली डिफेन्स फोर्स (आईडीएफ) ले जानकारी दिएको छ कि विगत २४ घण्टामा गाजामा करिब १५० वटा ‘आतंकवादी लक्षित’ स्थानमा हवाई आक्रमण गरिएको छ।

गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले भने सोही अवधिमा कम्तीमा ११८ जनाको मृत्यु भएको जानकारी दिएको छ। परिस्थिति दिनप्रतिदिन भयावह बन्दै गइरहेको अन्तर्राष्ट्रिय संस्थाहरूले जनाएका छन्।

प्रकाशित मिति: २० असार २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com