काठमाडाैं । मधेश प्रदेशकाे सर्लाही जिल्ला तस्करी नियन्त्रणमा सक्रियता देखाएको सर्लाही प्रहरीले अब विवादको भुमरीमा पर्न थालेको छ । र, यो विवादको केन्द्रमा छन् – जनता समाजवादी पार्टी (जसपा) का मधेश प्रदेश अध्यक्ष अशोक यादव र जिल्ला प्रहरी प्रमुख एसपी योगेन्द्रकुमार खड्का।

पछिल्लो समय तस्करीको मुद्दामा प्रहरीको भूमिकाप्रति सार्वजनिक चासो बढ्दो छ। यिनै घटनाक्रमका बीच जसपा नेता यादवले एसपी खड्कालाई फोनमै “लुटेरा” भन्दै गालीगलौज र धम्की दिएको अडियो सार्वजनिक भएपछि विवाद झनै चर्किएको छ। स्रोतका अनुसार, अश्लील भाषा प्रयोगसहित यादवले एसपीमाथि “मधेश लुट्न आएको” आरोप लगाएका थिए।

advertisement

सर्लाही सीमा क्षेत्रमा साना व्यापारीदेखि संगठित तस्करहरूको सक्रियता पुरानै कुरा हो। तर, पछिल्लो समय जिल्ला प्रहरी कार्यालयले केही ठूला कारबाही अघि बढाएपछि स्थानीय राजनीतिक हस्तक्षेप सुरु भएको देखिन्छ। प्रहरीले तस्करी नियन्त्रणमा कदम चाल्दा केही निर्दोष नागरिकहरू पनि फसिएको गुनासो आइरहेका छन्। यही सन्दर्भमा यादवले प्रहरी प्रशासनमाथि खुलेर आरोप लगाएका हुन्।

यादवको आलोचना एसपी खड्कासम्म मात्र सीमित छैन। जिल्ला प्रहरी कार्यालयको मुद्दा शाखा पनि आरोपको घेरामा छ। निरीक्षक बालिष्टर सिंहमाथि ‘पैसाको आधारमा मुद्दा कमजोर बनाउने वा झुटा मुद्दा हाल्ने’ आरोप सार्वजनिक भइसकेका छन्। तर, यस्ता गम्भीर आरोपमाथि कुनै औपचारिक छानबिन नहुनुले प्रहरी नेतृत्वको पारदर्शितामाथि प्रश्न उठेको छ।

यादव र एसपी खड्काबीचको टकराव केवल दुई व्यक्तिको विवाद होइन, यो प्रशासन र स्थानीय राजनीति आमनेसामने आएको संकेत हो। ‘हरेक असारमा यादवले आतंक सिर्जना गर्छन्’, एक स्थानीय कर्मचारीले बताए, ‘उनी मधेसी र पहाडी जनताको नाम जोडेर विभाजनको राजनीति गर्छन्।’

राजनीतिक नेताले प्रशासनलाई धम्क्याउनु र त्यसको जवाफमा प्रहरी प्रमुखले पनि आक्रोश देखाउनु – यस्तो अवस्था संस्थागत संकटको संकेत हुन सक्छ। अहिले परिस्थिति थप बिग्रन नदिन दुवै पक्षले संयमता देखाउनु आवश्यक छ, नत्र सर्लाहीजस्तो संवेदनशील जिल्लामा शासकीय संरचना नै कमजोर बन्न सक्छ।

प्रकाशित मिति: २० असार २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com