काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका सहकुलपति रघुजी पन्तले विश्वविद्यालयमा प्रधानमन्त्री र मन्त्रीलाई कुलपति वा सहकुलपति बनाउने प्रथा अन्त्य हुनुपर्ने बताएका छन् ।
त्रिविको ६६औं वार्षिकोत्सव समारोहमा बोल्दै पन्तले आफू यस्तो अभ्यासको विपक्षमा रहेको स्पष्ट पारे । “म त्यो मान्यताका पक्षमा छैन, जहाँ प्रधानमन्त्री वा मन्त्री विश्वविद्यालयका कुलपति र सहकुलपति बन्नुपर्छ भनिन्छ,” पन्तले भने, “कतिपय विश्वविद्यालयले यस अभ्यासलाई हटाइसकेका छन् । म पनि यस्ता पदहरूमा राजनीतिक व्यक्तिहरूको सहभागिता अन्त्य गर्न प्रस्ताव राख्ने मान्छे हुँ ।”
उनले त्रिभुवन विश्वविद्यालयमा पदाधिकारी नियुक्तिमा राजनीतिक हस्तक्षेप बढ्दै गएकोमा चिन्ता व्यक्त गरे । “भीसी, रेक्टर, रजिस्ट्रार, डिन वा विभागीय प्रमुखजस्ता महत्वपूर्ण पदमा प्राध्यापकको योग्यताको साटो राजनीतिक सर्टिफिकेटको आधारमा नियुक्ति गर्न थालिएको छ,” उनले भने, “त्यही कारण अहिले विश्वविद्यालयले जस्तो अवस्था भोगिरहेको छ, त्यो नियति अपरिहार्य भएको छ ।”
सेवा आयोग विहीन अवस्थाले समस्या थपिएको उल्लेख गर्दै मन्त्री पन्तले भने, “सेवा आयोग खाली छ, अध्यक्ष ल्याउने प्रयास भइरहेको छ, तर त्यो कति सफल होला थाहा छैन । संयुक्त सरकार भएकाले सीमितताभित्रै रहेर काम गर्नुपर्ने बाध्यता छ ।”
उनले त्रिविमा पछिल्लो समय देखिएको ताला बन्द र अदालतको आदेशबारे पनि टिप्पणी गरे । “अदालतले ताला खोल्न भनेको छ, कतिपय ठाउँमा आज ताला खुलेको सुनेको छु,” पन्तले भने, “यो संकेत हो कि त्रिविमा गम्भीर जटिलता छ । यो जटिलता हटाउनु जरुरी छ । सबै पक्ष मिलेर अघि बढ्न सके त्रिविको गौरव पुनर्स्थापित गर्न सकिन्छ ।”
सहकुलपति पन्तले विश्वविद्यालयमा अनुसन्धानमुखी वातावरण बनाउन जोड दिए । “शिक्षाको लक्ष्य सर्टिफिकेट मात्र होइन, ज्ञान र प्रज्ञाको विकास हो,” उनले भने, “सिर्फ प्रमाणपत्र बोकेर जागिरको ढोका त खोल्न सकिन्छ, तर त्यो प्रमाणपत्रले यदि ज्ञान बोकेको छैन भने शिक्षा प्रणाली असफल हुन्छ ।”
उनले त्रिविले देशका लागि आवश्यक जनशक्ति उत्पादन गरिरहेको उल्लेख गर्दै भने, “त्रिविले दिएको योगदान पर्याप्त नहुन सक्छ, तर यो नेपालको पहिलो विश्वविद्यालय हो, त्यसकारण यसको इतिहास र योगदानप्रति हामी गर्व गर्न सक्छौं ।”
६६औं वार्षिकोत्सव समारोह त्रिविको स्मृति भवनमा आयोजना गरिएको थियो । कार्यक्रममा उपकुलपति खड्ग केसी, रेक्टर दुविनन्द ढकाल, रजिस्ट्रार केदार प्रसाद रिजाल, डिन, क्याम्पस प्रमुख, कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति: २० असार २०८२, शुक्रबार













प्रतिक्रिया