काठमाडौँ । रूसले युक्रेनमाथि अहिलेसम्मकै ठूलो हवाइ आक्रमण गरेको छ। अमेरिकी सञ्चारमाध्यम सिएनएन का अनुसार गएराति मात्र रूसले किभसहित युक्रेनका विभिन्न सहरहरूमा ५३९ वटा ड्रोन र ११ वटा क्रुज तथा ब्यालिस्टिक मिसाइल प्रहार गरेको हो।

युक्रेनी वायु सेनाले तीमध्ये ४७६ ड्रोनलाई आफ्नो हवाई प्रतिरक्षा प्रणालीमार्फत नष्ट गर्न सफल भएको बताएको छ। आक्रमणका कारण किभलगायतका धेरै शहरी क्षेत्रमा भवनमा आगलागी भएको र बहुमञ्जिला संरचनामा गम्भीर क्षति पुगेको सिएनएन ले आपतकालीन सेवाका अधिकारीहरूलाई उद्धृत गर्दै उल्लेख गरेको छ। राजधानी किभको रेलमार्गमा समेत क्षति पुगेको बताइएको छ।

advertisement

सिएनएनले रातको उक्त हमलालाई युक्रेनमाथि युद्ध सुरू भएयताकै सबैभन्दा भीषण आक्रमणको संज्ञा दिएको छ। किभमा रातभरि डिफेन्स सिस्टम सक्रिय राखिए पनि विस्फोटको ठूलो आवाजका कारण सर्वसाधारण निदाउन सकेनन्। विस्फोटपछि हजारौं नागरिक मेट्रो स्टेसन तथा भूमिगत पार्किङमा सुरक्षित आश्रय खोज्दै पुगेका थिए।

आक्रमणमा परी कम्तिमा २३ जना घाइते भएको सिएनएन ले जनाएको छ भने मृत्युको पुष्टि भएको छैन।
युक्रेनी विदेशमन्त्री एन्ड्री सिबिहाले भने, “यो अहिले सम्मकै सबैभन्दा भयावह रात थियो, हामी झमेट पनि निदाउन सकेनौं।”

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि रूसको यो आक्रमणलाई हालसम्मकै सर्वाधिक हवाइ हमला बताएका छन्। उनले अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच कुराकानी भएको केही बेरमै रूसले आक्रमण सुरु गरेको उल्लेख गर्दै भने, “रूसले युद्ध रोक्ने कुनै संकेत देखाएको छैन।”

सिएनएन का अनुसार ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसल मार्फत पुटिनसँग कुराकानी हुने बताएका थिए। झन्डै एक घन्टा लामो कुराकानी भए पनि पुटिनले युद्धविराममा सहमति नजनाएको ट्रम्पले बताएका छन्।

रूसले यसै जुन महिनामा मात्रै युक्रेनमाथि ८० ब्यालिस्टिक क्षेप्यास्त्र, ५ हजार ड्रोन, ५ हजार ग्लाइडिङ बमसहित ३३० भन्दा बढी मिसाइल आक्रमण गरेको सिएनएन ले जनाएको छ।

युक्रेनसँगको लडाइँमा बिहीबार मात्र कुर्स्क क्षेत्रमा रूसी नौसेनाका उपप्रमुख मारिएको पनि खुलासा भएको छ।

प्रकाशित मिति: २० असार २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com