काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले परम्परागत बाजाहरूलाई संगीतको साधन मात्र नभई समुदायको भावना, संस्कृति र आवाजको प्रतिनिधि भएको बताएकी छन्।
शुक्रबार काठमाडौं महानगरपालिकाले परम्परागत टोल, गुथी र खल:हरूलाई अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण तथा प्रवर्द्धनका लागि आर्थिक अनुदान प्रदान गर्ने कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेकी हुन्।
उनले विशेषगरी नेवार समुदायमा प्रयोग हुने परम्परागत बाजाहरूको सांस्कृतिक र सामाजिक महत्त्व अत्यन्त गहिरो रहेको उल्लेख गर्दै भनिन्, “बाजाहरू केवल लय र संगीत होइनन्, ती हाम्रो पहिचानका प्रतीक हुन्। जबसम्म बाजा बज्छन्, तबसम्म त्यो समुदायको आवाज जीवित रहन्छ।”
डंगोलले मूर्त र अमूर्त सम्पदाको सम्बन्धलाई शरीर र आत्मासँग तुलना गर्दै अमूर्त सम्पदाले संस्कृति र परम्परालाई जीवन्त बनाउने बताइन्।
उनले भनिन्, “हरेक टोल, समुदाय, कुच, गुथीमा फरक प्रकारका सम्पदाहरू छन्। मूर्त सम्पदा हाम्रा शरीरजस्तै हुन् भने, त्यसमा प्राण फुक्ने काम अमूर्त सम्पदाले गर्छ। सामाजिक, सांस्कृतिक, धार्मिक र राजनीतिक गतिविधिमा अमूर्त सम्पदाको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ, विशेषतः संगीतजस्तो अभिन्न पक्षमा।”
कार्यक्रममा उपप्रमुख डंगोलले पुस्तौंदेखि चल्दै आएको सीप, ज्ञान र संस्कृति पुस्ता हस्तान्तरणमार्फत संरक्षण गर्नुपर्नेमा जोड दिइन्।
उनको भनाइमा, “हाम्रो संस्कृति जोगाउनु भनेको केवल सम्पदा जोगाउनु मात्र होइन, त्यो इतिहास, परम्परा र पहिचानलाई जोगाउनु हो। त्यसका लागि सजीव संस्कृति र अमूर्त सम्पदाहरूको संरक्षण अनिवार्य छ।”
कार्यक्रममा विभिन्न परम्परागत गुथी, खल: र टोल संस्थाहरूलाई अनुदान प्रदान गरिँदै अमूर्त सम्पदाको संरक्षणमा महानगरपालिका प्रतिवद्ध रहेको जनाइएको थियो।
प्रकाशित मिति: २० असार २०८२, शुक्रबार













प्रतिक्रिया