धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा) को संसदीय दलले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।
पार्टीको तर्फबाट मन्त्री रहेका रामेश्वर चौधरीलाई मुख्यमन्त्री कमलबहादुर शाहले पदमुक्त गरेपछि शुक्रबार धनगढीमा बसेको संसदीय दलको बैठकले सरकारसँगको समर्थन औपचारिक रूपमा फिर्ता लिने निर्णय गरेको हो।
संसदीय दलका नेता घनश्याम चौधरीका अनुसार पार्टी केन्द्रीय कार्यालयबाट प्राप्त निर्देशन र पत्रको आधारमा समर्थन फिर्ता गरिएको हो।
प्रदेशसभामा सात सदस्य रहेको नागरिक उन्मुक्ति पार्टी अहिले चौथो ठूलो शक्ति हो।
मुख्यमन्त्री शाहले उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री चौधरीलाई यसअघि असारको पहिलो साता राजीनामा दिन आग्रह गरेका थिए। तर चौधरीले राजीनामा नदिएपछि बिहीबार उनलाई पदमुक्त गरिएको थियो।
मुख्यमन्त्रीको सचिवालयले मन्त्री चौधरीमाथि सरकारको आर्थिक पारदर्शिता र सुशासन कायम गर्ने प्रयासमा अवरोध पुर्याएको आरोप लगाएको छ।
यद्यपि नागरिक उन्मुक्तिले समर्थन फिर्ता लिए पनि शाह नेतृत्वको गठबन्धन सरकारले आवश्यक बहुमत भने अझै कायम राखेको छ।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा सत्ता गठबन्धनमा रहेको नेपाली कांग्रेसका १८, नेकपा (एमाले)का ११ जना सदस्य छन्। प्रमुख विपक्षी दल माओवादी केन्द्रसँग ११, नेकपा (एकीकृत समाजवादी)सँग चार (एक निलम्बित), राप्रपाका एक र स्वतन्त्र एक सांसद छन्।
नागरिक उन्मुक्तिको समर्थन फिर्ताले सरकारलाई तत्काल संकटमा नपुर्याए पनि राजनीतिक समीकरण फेरबदलको संकेत मिलेको छ। आगामी दिनमा सुदूरपश्चिमको सत्ता सन्तुलनमा असर पर्न सक्ने सम्भावना रहेको देखिन्छ।
प्रकाशित मिति: २० असार २०८२, शुक्रबार













प्रतिक्रिया