काठमाडैं। सुर्खेतको भेरीगंगा नगरपालिका–८ मा शुक्रबार दिउँसो चट्याङ लाग्दा एक जनाको मृत्यु भएको छ, भने चार जना घाइते भएका छन्।
भेरीगंगा नगरपालिका स्थानीय वीरबहादुर थापाको खेतमा धान रोपाइँ गर्दै गर्दा अचानक परेको चट्याङले २७ वर्षीय डिलबहादुर शाहीको ज्यान गएको हो। जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको हो । प्रहरीका अनुसार दिउँसो करिब ३ बजेतिर चट्याङ लागेपछि गम्भीर घाइते भएका शाहीको मेहलकुना अस्पतालमा उपचारका क्रममा मृत्यु भयो।
चट्याङ लागेर घाइते हुनेमा १७ वर्षीय पर्वत विक, १९ वर्षीय हुमबहादुर थापा, १८ वर्षीय नवीन विक र ३० वर्षीया सुनिता गिरी रहेका छन्। उनीहरूको अवस्था सामान्य रहेको र मेहलकुना अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
घटनापछि इलाका प्रहरी कार्यालय छिन्चुबाट प्रहरी निरीक्षक पदमबहादुर खत्री र प्रहरी पोस्ट जहरेबाट प्रहरी सहायक निरीक्षक खगेन्द्र सुनारको टोली खटिएर घाइतेहरूको उद्धार गरी अस्पताल पुर्याएको थियो।
प्रकाशित मिति: २० असार २०८२, शुक्रबार













प्रतिक्रिया