काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई नेपाली राजनीतिका क्रान्ति र शान्ति दुवैका अगुवा नेताका रूपमा स्मरण गरेका छन्।

शुक्रबार काठमाडौंमा आयोजित १०२औं गिरिजाप्रसाद कोइराला जन्मजयन्ती समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले कोइरालाको योगदानलाई युगान्तकारी भन्दै लोकतन्त्र, शान्ति प्रक्रिया र गणतन्त्र स्थापनामा उनी सर्वोच्च स्थानमा रहेको उल्लेख गरे।

advertisement

“यदि गिरिजाप्रसाद कोइरालाको व्यक्तित्वलाई एक शब्दमा समेट्नुपरेमा, उहाँ क्रान्तिको नेता पनि हुनुहुन्थ्यो, शान्तिको नेता पनि,” राष्ट्रपति पौडेलले भने, “उहाँले नेपालको राजनीतिको दिशा परिवर्तन गर्नु भयो। लोकतान्त्रिक आन्दोलनको नेतृत्व गर्दै शान्ति प्रक्रिया अगाडि बढाउनु भयो र गणतन्त्र स्थापनासम्मको ऐतिहासिक यात्रालाई मार्गदर्शन गर्नु भयो।”

राष्ट्रपति पौडेलले गिरिजाप्रसाद कोइरालालाई नेताभन्दा पर गएर ‘राजनेता’को दर्जामा पुग्न सफल असल नेतृत्वकर्ताका रूपमा चित्रण गरे। “उहाँ जीवनको उत्तरार्धमा नेताबाट राजनेताको रूपान्तरणमा पुग्नुभयो। उहाँ सधैं हाम्रो प्रेरणाको स्रोत रहिरहनुहुन्छ,” उनले भने।

कोइरालाको साहस, आत्मविश्वास र अप्ठ्यारामा पनि नझुक्ने स्वभावबारे चर्चा गर्दै पौडेलले भने, “उहाँसँग दृढ आत्मबल थियो। निर्णय गर्दा जस्तोसुकै जोखिम मोल्न सक्ने आँट उहाँमा थियो। उहाँ कहिल्यै थाक्नु हुन्नथ्यो, साथीहरूलाई प्रेरणा दिनुहुन्थ्यो, लोकतन्त्रको दियो उहाँमा कहिल्यै निभेन।”

राष्ट्रपति पौडेलले मुलुकको समृद्धि र जनताको जीवनस्तर उकास्न शान्ति, स्थायित्व, सहकार्य, मेलमिलाप र सुशासन आवश्यक भएको बताए। “हामीसँग जनताले बनाएको संविधान छ। त्यसको मर्म जनताको सेवा हो। स्रोत र साधनको समुचित उपयोग गरेर मात्र समृद्ध नेपालको लक्ष्य हासिल हुन्छ,” उनले स्पष्ट पारे।

आर्थिक नीति र सोचका विविध धारहरूबीच सन्तुलन कायम गर्दै कोइरालाले आफ्नो कार्यकालमा मुलुकको अर्थतन्त्रलाई स्थिर राख्न सफल भएको उल्लेख गर्दै पौडेलले थपे, “पुँजीवाद र समाजवादबीचको सन्तुलित दृष्टिकोण अपनाउँदै उहाँले आर्थिक मोडलको स्पष्ट दिशा देखाउनुभयो। अन्तर्राष्ट्रिय आर्थिक संकटका बाबजुद पनि उहाँको नेतृत्वमा नेपालको अर्थतन्त्रलाई केही हदसम्म सुरक्षित राख्न सकियो।”

राष्ट्रपति पौडेलले गिरिजाप्रसाद कोइरालाको जीवन र विचारहरू आगामी पुस्ताका लागि अनुकरणीय पाठ रहेको भन्दै देश निर्माणमा कोइरालाको योगदान सधैं स्मरणीय रहने बताए।

प्रकाशित मिति: २० असार २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com