काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भारतबाट नेपाल प्रवेश गर्ने व्यक्तिहरूले पाँच हजार अमेरिकी डलर बराबरको रकम बिना घोषणा ल्याउन सक्ने व्यवस्था रहेको बताएका छन्।

शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो जानकारी दिएका हुन्।

advertisement

उनका अनुसार, यदि पाँच हजार डलरभन्दा बढी रकम ल्याउन चाहिने भएमा भन्सार कार्यालयमा पूर्वघोषणा गर्नुपर्नेछ। भारतबाट ल्याउन सकिने भारतीय मुद्राको सीमा बारे जानकारी दिँदै उनले भने, “यदि व्यक्ति भन्सारमा घोषणा गर्छ भने अधिकतम ६ लाख रुपैयाँ भारतीय मुद्रा पनि नेपाल भित्र्याउन सकिन्छ।”

पर्यटन क्षेत्रसँग सम्बन्धित विषयमा बोल्दै उनले नेपाल भ्रमणमा आउने पर्यटकहरूको सहजताका लागि क्युआर कोड र कार्डमार्फत भुक्तानी गर्न सकिने व्यवस्था गरिएको उल्लेख गरे।

भारतीय ५०० रुपैयाँका नोटबारे उठेका प्रश्नमा अर्थमन्त्री पौडेलले भारतले उक्त नोटहरू फिर्ता नलिने जनाएको हुँदा नेपालमा ती नोट स्वीकार नगरिएको स्पष्ट पारे।

भन्सार प्रक्रियालाई सरल बनाउन सरकारले गाडी प्रवेशपश्चात अनावश्यक चेकजाँच नगरिने व्यवस्था गरिरहेको समेत उनले जानकारी दिए।

बैठकमा बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयकमाथि संशोधनकर्तासँग छलफल गर्ने क्रममा अर्थमन्त्री पौडेलले बैंकिङ क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार कानुन निर्माणको प्रक्रियामा रहेको बताए।

उनले कालोधनलाई कर तिरेर वैध बनाउने प्रस्ताव संवेदनशील विषय भएकाले त्यसबारेमा गम्भीर छलफल आवश्यक रहेको उल्लेख गरे। “यस्ता प्रस्तावका कारण नेपाललाई ‘ग्रे लिष्ट’ (धोखाधडी वा अवैध आर्थिक गतिविधिमा संलग्न मुलुकको सूची) मा परेका मुलुकहरूबाट बाहिर आउन थप चुनौती पनि हुन सक्छ,” उनले चेतावनी दिए।

बैठकमा सांसदहरूले बैंक तथा वित्तीय प्रणालीमा पारदर्शिता, जवाफदेही र जोखिम व्यवस्थापनमा सुधार ल्याउनुपर्नेमा जोड दिएका थिए।

प्रकाशित मिति: २० असार २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com