काठमाडौं । लोकप्रिय हास्य टेलिश्रृंखला ‘मेरी बास्सै’ मार्फत ‘अप्सरा आमा’ को भूमिकाबाट चर्चा कमाएकी वरिष्ठ कलाकार लक्ष्मी श्रेष्ठको निधन भएको छ।
केही महिनादेखि बिरामी परेकी लक्ष्मीको शुक्रबार राति आफ्नै निवासमा निधन भएको कलाकार सुशीला निरौलाले जानकारी दिइन्।
श्रेष्ठले हास्यकलाकार सीताराम कट्टेलद्वारा निभाइएको ‘खड्काजी’को पत्नीको रूपमा ‘अप्सरा आमा’ को छुच्चे र घमण्डी तर हँसिलो पात्र प्रस्तुत गरेकी थिइन्। खड्काजी र अप्सरा आमाको जोडीलाई दर्शकहरूले अत्यधिक मन पराएका थिए।
स्तन क्यान्सर लगायत अन्य स्वास्थ्य समस्याबाट पीडित लक्ष्मी केही सातादेखि शारीरिक रूपमा अशक्त भएकी थिइन्। दसैंपछि स्वास्थ्य झन् कमजोर भएपछि चार महिनाअघि उनलाई भक्तपुर क्यान्सर अस्पताल भर्ना गरिएको थियो। अस्पतालले उपचार असम्भव भएको भन्दै करिब एक महिनाअघि घर फर्काएको थियो। त्यसयता उनी काठमाडौँको कपनस्थित बालुवाखानीमा रहेको आफ्नो निवासमै थिइन्।
कलात्मक यात्रामा उनले ‘जिरे खुर्सानी’, ‘कान्छी’, ‘उल्टो सुल्टो’ जस्ता चर्चित सिरियलहरूसहित थुप्रै चलचित्र, संगीत भिडियोहरूमा अभिनय गरेकी थिइन्। उनी निर्देशक शिवहरि पौड्यालद्वारा निर्देशित फिल्म ‘लक्का जवान’ मा पनि देखा परेकी थिइन्।
लक्ष्मी श्रेष्ठको अन्त्येष्टि शनिबार बिहान पशुपति आर्यघाटमा गरिने पारिवारिक स्रोतले जनाएको छ। नेपाली कला क्षेत्रमा उनले पुर्याएको योगदान अमूल्य छ, उनको निधनले नेपाली रंगमञ्चले एक समर्पित कलाकार गुमाएको छ।
प्रकाशित मिति: २१ असार २०८२, शनिबार













प्रतिक्रिया