काठमाडौं । काठमाडौं महानगरपालिकाले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा अत्यधिक विद्यार्थी ननग्रेडेड हुनुको कारण पत्ता लगाउन सम्बद्ध विद्यालयका प्रधानाध्यापकलाई जिम्मेवारी दिएको छ।

महानगरकी उपप्रमुख सुनिता डंगोलले कामपाका सामुदायिक विद्यालयहरूमा अपेक्षित नतिजा नआएकोप्रति चिन्ता व्यक्त गर्दै विद्यालय व्यवस्थापनको प्रमुख जिम्मेवारी प्रधानाध्यापकमै हुने बताइन्। तीन वर्षदेखि निरन्तर कमजोर नतिजा आउने विद्यालयका प्रधानाध्यापकहरूसँगको छलफलमा उनले भनिन्, “नेतृत्वले सही दिशा लिन सकेन भने नतिजा पनि सकारात्मक आउँदैन। अब सबै साझेदार मिलेर एउटै सोच र दृष्टिकोणबाट अघि बढ्नुपर्छ।”

advertisement

डंगोलले ननग्रेडेड विद्यार्थीलाई लक्षित गर्दै एक महिनाको विशेष कक्षा सञ्चालन गरी नतिजा सुधार गर्नुपर्ने सुझाव दिइन्। “यो समय सुधारको अवसर हो,” उनले भनिन्, “एक महिनापछि हामी गहिरो विश्लेषण गरेर सीप र क्षमताअनुसार थप कार्यक्रम तय गर्नेछौं।”

छलफलमा सहभागी कामपाका शिक्षा अधिकृत केशव ज्ञवालीले कमजोर नतिजाको पछाडि शिक्षक-विद्यार्थी तथा शिक्षक-प्रधानाध्यापक सम्बन्धमा कमजोरी, विद्यार्थीको पारिवारिक वातावरण, श्रममा संलग्नता, र अभिभावकीय नियन्त्रणको अभावजस्ता सामाजिक र व्यवस्थापकीय कारणहरू जिम्मेवार रहेको बताए।

प्रधानाध्यापकहरूले पनि विद्यार्थीलाई अतिरिक्त कक्षा, अध्ययन प्रोत्साहन तथा अनुशासनमार्फत सकारात्मक रूपान्तरण गर्न प्रतिबद्धता व्यक्त गरे।

विसं २०८१ को एसईईमा कामपाभित्रका ५८ सामुदायिक विद्यालयबाट ४,०५६ जना विद्यार्थी सहभागी भएका थिए। तीमध्ये ९५६ जना विद्यार्थी ननग्रेडेड भएपछि उनीहरू पुनः परीक्षा दिन बाध्य भएका छन्।

तर यस वर्ष उच्च जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या भने विगतको तुलनामा उल्लेखनीय रूपमा वृद्धि भएको छ। यसपटक ७८९ जनाले ३.६१ देखि ४ जीपीए प्राप्त गरेका छन्, जसमध्ये १७ जनाले पूर्ण ४ जीपीए ल्याएका छन्। गएको वर्ष यस्तो श्रेणीमा ५४५ जना मात्र थिए।

यस तथ्यले उच्च स्तरमा सुधारको संकेत दिए पनि कमजोर पक्षमा गम्भीर समीक्षा र सुधारको आवश्यकता अझै बाँकी छ।

प्रकाशित मिति: २१ असार २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com