काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आउँदो वर्ष २०८४ लाई नेपाली क्रान्तिको नयाँ चरणको रूपमा अघि बढाउने घोषणा गरेका छन्।
शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पर्सा–काठमाडौँ सम्पर्क समन्वय समितिको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ०८४ साललाई राजनीतिक परिवर्तनका लागि निर्णायक वर्ष बनाउने तयारीमा आफूहरू जुटेको बताए।
उनले भने, “आउने ०८४ लाई हामीले नेपाली क्रान्तिको एउटा नयाँ चरणमा प्रवेश गराउनेछौँ। मलाई विश्वास छ, तपाईंहरू सबैले त्यसमा आफ्नो भूमिका पूरा गर्नुहुनेछ।”
अध्यक्ष प्रचण्डले जनयुद्धको कालखण्डमा पनि गीत, संगीत र नृत्यले जनताको मन जित्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै अबको चुनावी लडाइँमा पनि सांस्कृतिक माध्यमहरू निर्णायक बन्ने बताए।
उनले महिला, दलित, आदिवासी, जनजातिलगायत उत्पीडित वर्गको अधिकारको पक्षमा उठाइएको क्रान्तिको झन्डालाई अघि बढाउन साङ्गीतिक योगदान अतुलनीय रहेको स्मरण गरे।
कार्यक्रममा प्रचण्डले पर्साबाट माओवादी केन्द्रको विजय यात्रा सुरु भइसकेको दाबीसमेत गरेका थिए।
प्रकाशित मिति: २१ असार २०८२, शनिबार













प्रतिक्रिया