काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मुलुकमा केही सकारात्मक परिवर्तनहरू भएका भए पनि अपेक्षा अनुसारका काम गर्न नसकेको स्पष्ट पारेका छन्।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले देशबारे चरम निराशा या अतिशयोक्तिपूर्ण आशावाद दुवै नअपनाउन विद्यार्थीहरूलाई सुझाव दिए। “कसैले देश संकटमा छ, बर्बाद भयो भने पनि नपत्याउनुस्। अर्कोतर्फ, कसैले देशमा सबथोक ठीक छ भन्यो भने पनि आँखामुनि देखिएको यथार्थ नबिर्सनुस्,” थापाले भने।
उनले यथार्थ बुझेर मात्र समर्थन वा विरोध गर्न आग्रह गरे। “राम्रो काम भएको छ भने धन्यवाद भन्न सक्नुपर्छ, हुनुपर्ने जति नभएकोमा प्रश्न उठाउन सक्नुपर्छ,” उनले थपे।
थापाले नयाँ पुस्तालाई निराश नहुन, जटिलता देखेर नभाग्न, गाली मात्रै नगरी जिम्मेवारी पनि वहन गर्न र निरन्तर नयाँ कुरा सिक्दै अडिग भएर अघि बढ्न प्रेरित गरे।
“बाँकी काम म गर्छु भनेर जिम्मा लिनुस्। नथाक्नुस्, नगल्नुस्। रमाइलो गर्नुस्, तर गम्भीर प्रश्न पनि गर्न सक्नुस्,” उनले भने।
महामन्त्री थापाले आफूलाई अबको पुस्ताले अझ राम्रो काम गर्नेमा दृढ विश्वास रहेको पनि उल्लेख गरे।
प्रकाशित मिति: २१ असार २०८२, शनिबार













प्रतिक्रिया