काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको बहुचर्चित ठेक्का प्रकरणमा प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङका काका ससुरा तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का बागमती प्रदेशसभा सदस्य डम्बर तामाङसहित ६ जनाविरुद्ध ललितपुर जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ।
ठेक्का सम्झौतामा अनियमितता भएको आरोपमा सहन इन्जिनियरिङ कन्सर्न प्रालिका अध्यक्ष सन्तकुमार गुरुङले दिएको जाहेरीका आधारमा अदालतले सो आदेश दिएको हो। पक्राउ पुर्जीमा प्रो-सोलुसन्स कम्पनीका सन्तोष पौडेल, सञ्चिता श्रेष्ठ, राजेन्द्र अवस्थी, सरोज शाही र दिनेशकुमार यादव पनि समावेश छन्।
तामाङ धादिङ २ (ख) बाट प्रदेशसभा सदस्य निर्वाचित भएका हुन्। उनी राप्रपाका नेता बुद्धिमान तामाङका सहोदर भाइसमेत हुन्।
बिबाद चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइनअन्तर्गतको चिलिमेमा निर्माण हुने २२० केभीएको GIS सब-स्टेशन र त्रिशूलीमा निर्माण हुने २२० केभीको हाइब्रिड सब-स्टेशनको ठेक्कासँग सम्बन्धित छ। सो ठेक्का चिनियाँ कम्पनीले प्राप्त गरेको थियो भने सोही कम्पनीबाट सहन इन्जिनियरिङ कन्सर्न प्रालिले सब-कन्ट्र्याक्ट पाएको थियो।
जाहेरी अनुसार, तत्कालीन कार्यकारी निर्देशक घिसिङको दबाबमा सहन इन्जिनियरिङबाट लेबर कन्ट्र्याक्ट तामाङको कम्पनी प्रो-सोलुसन्सलाई दिइएको थियो। चिनियाँ कम्पनीले सहनलाई दिनुपर्ने भुक्तानी सिधै प्रो-सोलुसन्सलाई उपलब्ध गराएको तर प्रो-सोलुसन्सले सहनलाई कुनै रकम नदिएपछि विवाद चुलिएको हो।
प्रकरणले राजनीतिक र प्रशासनिक तहमा व्यापक चासो उत्पन्न गराएको छ। यसबारे थप अनुसन्धान जारी रहेको प्रहरी स्रोतले जनाएको छ।
प्रकाशित मिति: २१ असार २०८२, शनिबार













प्रतिक्रिया