विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान राजनीतिक संरचनालाई आन्दोलनबाटै परिवर्तन गर्ने घोषणा गरेका छन्।
शनिबार विराटनगरमा आयोजित पार्टीको नगर अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले गणतन्त्र चुनावमार्फत आएको नभएकाले त्यसको विकल्प पनि निर्वाचनबाट सम्भव नहुने दाबी गरे। “यो व्यवस्था आन्दोलनबाट आएको हो, परिवर्तन पनि आन्दोलनबाटै सम्भव छ,” उनले प्रस्ट पारे।
उनले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई तीनै दल देशको दुर्दशाका मुख्य कारक भएको आरोप लगाए। “यी दलका शीर्ष नेताहरूले मुलुकलाई बन्धक बनाएका छन्,” लिङ्देनले भने, “बिचौलिया, नेता, कर्मचारी र न्याय क्षेत्रको एक अघोषित गठबन्धन बनेको छ, जसले राष्ट्रलाई पतनतर्फ धकेलिरहेको छ।”
लिङ्देनका अनुसार, योजनाहरू बिचौलिया व्यापारीले तयार गर्छन्, कार्यान्वयनका लागि नेताहरूले कर्मचारीलाई खुला छूट दिन्छन्, त्यसपछि कर्मचारीले साख मिलाउँछन् र अन्ततः अदालतले त्यसमा वैधता दिन्छ। “यही भ्रष्ट चक्रलाई तोड्न राप्रपाले सडक संघर्ष रोजेको हो,” उनले भने।
अध्यक्ष लिङ्देनले अब निर्णायक आन्दोलनको आवश्यकता रहेको उल्लेख गर्दै कार्यकर्ताहरूलाई गाउँ–गाउँमा संगठन विस्तारमा लाग्न निर्देशन दिए। “संगठन बलियो बिना परिवर्तन सम्भव छैन,” उनले जोड दिए, “त्यसैले राप्रपा आजबाट परिवर्तनको नेतृत्व लिन तयार छ।”
प्रकाशित मिति: २१ असार २०८२, शनिबार













प्रतिक्रिया