भोजपुर । भोजपुर नगरपालिका–२ मा मध्यराति एकै परिवारका चार जनाको विभत्स हत्या भएको छ।
स्थानीय ३८ वर्षीय राजेन्द्र राई (रामप्रसाद राई)ले आफ्नै ससुरा, सासु, श्रीमती र सालोको धारिलो हतियार प्रयोग गरी हत्या गरेका हुन्। जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार, घटनापछि राई आफैंले गएराति करिब १ः१५ बजे प्रहरी कन्ट्रोल रुममा फोन गरी आफूले हत्या गरेको स्विकारेका थिए।
प्रहरी तत्कालै घटनास्थलमा पुग्दा ६८ वर्षीय बेलबहादुर गिरी, उनकी ४५ वर्षीया श्रीमती मञ्जु गिरी, छोरी मनिषा गिरी र छोरा सपन गिरी मृत अवस्थामा भेटिएका थिए। चारैजनाको शरीरमा धारिलो हतियारका गहिरा घाउ देखिएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न राजेन्द्र राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनको पनि पेटमा चोट लागेको र प्रारम्भिक अनुसन्धानमा उनले आत्महत्या प्रयास गरेको हुन सक्ने आशंका गरिएको छ। हाल उनलाई उपचारका लागि अस्पताल लगिएको छ।
घटनाको कारण खुल्न बाँकी रहेको र थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। प्रहरीले घटनास्थलबाट प्रमाण सङ्कलन गरिरहेको छ भने शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको छ।
प्रकाशित मिति: २२ असार २०८२, आइतबार












प्रतिक्रिया