काठमाडाैं । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी इजराइलसँगको युद्धपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिएका छन्।

इरानी सरकारी टेलिभिजनले शनिबार प्रसारण गरेको दृश्यमा खामेनीलाई तेहरानस्थित एक मस्जिदमा नमाजका लागि उपस्थित श्रद्धालुहरूसँग अभिवादन गर्दै देखाइएको थियो। यो दृश्य उनको युद्धपछिको पहिलो भौतिक सार्वजनिक उपस्थिती हो।

advertisement

बिबिसीले सरकारी टेलिभिजनलाई उद्धृत गर्दै उल्लेख गरेअनुसार, यो उपस्थिति सिया मुस्लिमहरूको महत्वपूर्ण पर्व अशुराको अघिल्लो दिनको हो।

इसराइल–इरान युद्ध उत्कर्षमा पुगेपछि खामेनी बंकरमा आश्रय लिएको बताइएको थियो। युद्धविरामपछि समेत उनी लामो समयसम्म सार्वजनिक रूपमा नदेखिँदा उनकाे अवस्था र सुरक्षा बारे विविध अडकलहरू फैलिएका थिए।

युद्धविराम घोषणा भएदेखि दुई दिनपछि मात्रै खामेनीको बंकरमै रेकर्ड गरिएको भिडिओ सन्देश सार्वजनिक गरिएको थियो। सो भिडियोले उनलाई युद्धमा केही भएको हुनसक्ने भन्ने जनचासोलाई केही हदसम्म शान्त पारेको थियो।

खामेनीले उक्त सन्देशमार्फत अमेरिकाले इरानमाथि आक्रामक हमला गरे पनि त्यसको ठोस उपलब्धी नभएको बताएका थिए। “इजराइल र अमेरिकाले हाम्रो विरुद्ध सशक्त हमला गरे, तर हाम्रो आणविक पूर्वाधार पूर्ण रूपमा ध्वस्त भएका छैनन्,” उनले भनेका थिए।

युद्धका क्रममा उनका निकट सहयोगीहरू मारिएपछि खामेनीको सुरक्षालाई लिएर इस्लामिक रिभोलुसनरी गार्ड कोर (IRGC) ले अत्यधिक सतर्कता अपनाएको थियो। देशभर बढेको चिन्ताको बीचमा बंकरमै रेकर्ड गरिएको भिडियो सार्वजनिक गरिएको हो।

उनको पछिल्लो सार्वजनिक उपस्थिति इरानी जनतामा केही राहतको अनुभूति गराउने प्रयासको रूपमा हेरिएको छ।

प्रकाशित मिति: २२ असार २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com