काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले काठमाडौं टावरसम्बन्धी विषयलाई लिएर आफूमाथि लगाइएका आरोप कपोलकल्पित, भ्रामक र नियोजित रहेको स्पष्ट पारेका छन्।
आइतबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै गुरागाईंले पछिल्लो समय आफ्नो चरित्र हत्या गर्न विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने प्रयास भएको भन्दै गम्भीर आपत्ति जनाए।
“मलाई निराधार आरोप लगाएर जनमानसमा नकारात्मक सन्देश दिन खोजिएको छ,” उनले भने, “मैले कुनै पनि नयाँ निर्णय गरेको छैन, विगतमा भएका निर्णयहरूलाई मात्र प्रक्रिया अनुसार अनुमोदन गरेको हुँ।”
गुरागाईंका अनुसार काठमाडौं टावरको नक्सा स्वीकृतसम्बन्धी सम्पूर्ण प्रक्रिया पहिले नै सुरु भइसकेको थियो। “२०८० मंसिर २७ गते तत्कालीन प्रशासन विभागले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीलाई सम्बोधन गर्दै फाइल अघि बढाएको थियो। त्यसपछि अधिकारीले सो निर्णय नगर प्रमुख समक्ष पेस गरेका थिए,” उनले स्पष्ट पारे।
“पुस २ गते मेयर बालेन शाहले पाँच लाख जरिवानासहित नक्सा स्वीकृति दिनु भएको छ। त्यसअनुसार मबाट फाइल प्रक्रिया मात्र अघि बढाइएको हो,” गुरागाईंले भने।
बजेटसँग काठमाडौं टावरको विषयलाई जोडेर विवाद सिर्जना गरिएकोप्रति असहमति जनाउँदै उनले भने, “म सधैं भन्छु, बजेट पास हुनु अत्यावश्यक छ। म मेयर, उपमेयर र जनप्रतिनिधिहरूको निर्णयमा अवरोध बन्ने पक्षमा कहिल्यै थिएन, छैन।”
आफूमाथि चरित्र हत्या हुने शैलीमा भ्रष्टाचारको आरोप लागिरहँदा कानुनी प्रक्रिया र प्रमाणको आधारमा निर्णय हुनुपर्नेमा जोड दिंदै गुरागाईंले भने, “कसैले भन्नेबित्तिकै ‘तँ भ्रष्टाचारी हो’ भनेर कोही दोषी ठहर्दैन। त्यसको निर्णय गर्न अधिकार प्राप्त निकाय छन्। उनीहरूले जाँच्ने र प्रमाणित गरेमा म सजाय भोग्न तयार छु। तर यसरी मञ्चमै उभ्याएर आरोप लगाउनु गलत हो।”
गुरागाईंले लामो समय आफू अनुपस्थित हुँदा पनि बैठक नबसेको स्मरण गराउँदै व्यक्तिका आधारमा आरोप लगाउने प्रवृत्तिप्रति आक्रोश व्यक्त गरे।
“मैले अहिलेसम्म मेयरको आलोचना पनि गरेको छैन। तर उहाँको सचिवालयको हवाला दिँदै मलाई दोषी करार गरिँदैछ। त्यो न्यायसंगत होइन,” उनले भने।
काठमाडौं टावरको सन्दर्भमा निर्णय भइसकेको विषयमा आफूले केवल प्रमाणपत्र दिने औपचारिक कार्य मात्र गरेको दोहोर्याउँदै उनले राजनीतिक पूर्वाग्रहका आधारमा आफूमाथि पटक–पटक प्रहार भइरहेको बताए। “किन यस्तो भइरहन्छ भन्नेचाहिँ म अझै बुझेको छैन,” उनले अन्त्यमा भने।
प्रकाशित मिति: २२ असार २०८२, आइतबार













प्रतिक्रिया