काठमाडौं । रौतहट बम विस्फोट घटनामा घाइते भारतीय नागरिक गौरीशंकर राम चमार सफाइको फैसलापछि काठमाडौं आइपुगेका छन्।

२०६४ चैत २७ गते रौतहटमा नेपाली कांग्रेसका नेता आफताब आलमको घरमा भएको बम विस्फोटमा घाइते भएका चमारले आइतबार काठमाडौंको भृकुटीमण्डपमा पत्रकार सम्मेलन गर्दै न्याय नपाएको गुनासो गरे।

advertisement

बिहार, सीतामढीका चमारले विस्फोट भएको दिन पैसा लिन गएका बेला बम पड्किएको बताए। “घरको ढोकामै पुगेको थिएँ, एक जनाले पैसा लिएर गइहाल भन्यो। त्यसैबेला बम विस्फोट भयो, म आगोमा जलेँ। पानी खन्याएर भागेँ,” उनले घटनाको विवरण सुनाए।

विस्फोटपछि एकैचोटि आफूको होस भारतको सीतामढीमा रहेको अस्पतालमा खुलेको उनले बताए। घाइते भएकै कारण भारतमै उपचार गर्नुपरेको र साढे तीन लाख भारतीय रुपैयाँ खर्च भएको उनले बताए।

घटनापछि उनले प्रहरीमा बयान दिएका थिए तर आफताब आलमका पक्षधरहरूले आफू र परिवारलाई धम्क्याएको पनि उनले खुलासा गरे। “बयान दिन एसपी अफिस जाँदा आमालाई धम्की दिइएको थियो— तेरो छोरा अब बाँच्दैन,” उनले भने।

उक्त घटनामा चमारले आफैं पीडकको रूपमा जाहेरी पनि दिएका थिए, तर उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले आफताब आलमसहित चार जनालाई प्रमाण नपुगेको भन्दै सफाइ दिएको थियो।

न्यायाधीशद्वय खुसीप्रसाद थारू र अर्जुन महर्जनको इजलासले “विस्फोट नै भएको हो वा होइन भन्ने पुष्टि हुने आधार छैन” भन्दै फैसला गरेको हो। अदालतले चमारको बयान र उपचारसम्बन्धी कागजातलाई अस्वीकार गर्दै प्रेस्क्रिप्सनमा “स्टोभ पड्किएको” उल्लेख भएकाले बम विस्फोट भएको प्रमाणित नहुने ठहर गरेको थियो।

तर चमारले भने उक्त निर्णयलाई अस्वाभाविक भन्दै आक्रोश व्यक्त गरे। “विस्फोटका कारण आजसम्म काम गर्न पनि गाह्रो भएको छ,” उनले गुनासो गरे, “कतै काम पाइहालेँ भने पनि केही दिनमै पैसा लिएर फर्क भन्न थाल्छन्।”

उनले आफताब आलमले सफाइ पाएको कुरा पनि पछिल्लो समय मात्र थाहा पाएको बताए। “न्याय पाउने आशामा बसेको थिएँ, तर पीडित हुँदाहुँदै मेरो त कुरै नसुन्ने फैसला आयो,” उनले भने।

प्रकाशित मिति: २२ असार २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com