वीरगञ्ज । सर्लाहीका प्रहरी प्रमुख (एसपी) योगेन्द्रकुमार खड्कालाई फोनमा गालीगलौज गरेको अभियोगमा जनता समाजवादी पार्टी (जसपा) मधेस प्रदेश अध्यक्ष अशोककुमार यादव फरार भएका छन्।

प्रहरी स्रोतका अनुसार, अदालतबाट पक्राउ पुर्जी जारी भएसँगै यादवको खोजी कार्य तीव्र पारिएको छ। हालसम्मको प्रारम्भिक अनुसन्धानका आधारमा उनी भारततर्फ भागिसकेको आशंका गरिएको छ।

advertisement

मधेस प्रदेश प्रहरी प्रमुख डिआइजी उमाप्रसाद चतुर्वेदीले यादवलाई पक्राउ गर्न विभिन्न स्थानमा खानतलासी र सर्च अपरेशन सञ्चालन भइरहेको जानकारी दिए। “हामी अनुसन्धानको क्रममा छौं, यादवलाई चाँडै नियन्त्रणमा लिनेछौं,” चतुर्वेदीले भने।

एसपी खड्कासँग फोनमा अशोभनीय भाषा प्रयोग गर्दै विवादमा उत्रिएका यादवविरुद्ध सार्वजनिक सेवा अवरुद्ध गरेको र उपद्रव फैलाएको आरोपमा दुई वटा मुद्दा दर्ता गरिएका छन्।

अदालतबाट पक्राउ अनुमति प्राप्त भएपछि मधेस प्रदेश प्रहरी कार्यालयले विशेष प्रहरी टोली खटाएको जनाएको छ।

गत बिहीबार राति यादव र एसपी खड्काबीचको टेलिफोन संवाद सामाजिक सञ्जालमा सार्वजनिक भएपछि विवाद चुलिएको थियो। भाइरल भएको अडियोमा यादवले अपशब्द प्रयोग गर्दै प्रहरी प्रमुखलाई धम्की दिएको सुनिन्छ।

प्रहरीले घटनालाई गम्भीर रुपमा लिँदै कानुनी कारबाहीको प्रक्रिया अघि बढाएको छ। यादव हालसम्म सम्पर्कविहीन छन्।

प्रकाशित मिति: २२ असार २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com