काठमाडौं । स्वतन्त्र युवा अभियन्ता तथा सम्भावित उम्मेदवार सागर ढकालले रुपन्देहीमा राजनीतिक अभियानको संकेत दिंदै आफूविरुद्ध चलिरहेका प्रचारबारे सामाजिक सञ्जालमा कडा प्रतिक्रिया दिएका छन्।
फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै ढकालले हालै आफूलाई निसाना बनाउनेहरू ‘हात धोएर खुट्टा तान्न’ थालेको उल्लेख गरेका छन्। “६२ हजार मतसहित इतिहास रच्न सक्छु भन्दा केही आत्तिएजस्तो देखिन्छ,” ढकालको भनाइ छ, “विगत चार-पाँच दिनदेखि मान्छेहरू योजनाबद्ध रूपमा मेरो पछि लागेका छन्।”
ढकालले आफू गुल्मीमा जन्मिए पनि रुपन्देहीमा हुर्किएको र कर्मथलो डडेलधुरा रहेको उल्लेख गर्दै, “कसको घर कहाँ हो भन्ने थोरै रिसर्च गर्नुपर्थ्यो,” भन्दै प्रतिपक्षप्रति व्यङ्ग्य गरेका छन्।
“सागरलाई डडेलधुराले, हर्कलाई धरानले, कुलमानलाई बत्तीले, बालेनलाई काठमाडौंले र रविलाई चितवनले जन्माएको हो,” भन्दै उनले रुपन्देहीको भूमिकालाई ‘निर्णायक’ भन्दै भविष्यप्रति संकेत गरेका छन्। “अब रुपन्देहीले कुन अनुहारलाई जन्म दिने हो? चितवनसँग मित्रता गाढा बनाउने कि तोड्ने? हेर्न बाँकी छ।”
ढकालले पुराना दलहरूबाट वञ्चित, पिँधमा पिल्सिएका युवाहरूलाई अगाडि ल्याउने अभियान सुरु गरिएको उल्लेख गर्दै आफूहरू ‘एक सांसद’ मात्र खोज्न नआएको स्पष्ट पारेका छन्। उनले डडेलधुरा र धरान मोडेलझैं रुपन्देहीमा पनि दुई वटा स्कुटर वा एउटा ट्याम्पो लिएर युवाहरू घरघरमा पुग्ने बताएका छन्। उनि लेख्छन् “बाहिर देखिनु हुँदैन, हामी देखियौं भने सिद्धिन्छौं, सरकार र पुराना नेताहरू हाम्रो विरुद्ध छन्”।
पुराना नेताहरू विरुद्ध ‘युवाहरूको सुरुङ युद्ध’ सुरु भएको उल्लेख गर्दै ढकालले २०४८ पछि राजनीतिमा स्थापित सबै पेशेवरहरूलाई हटाएर देशका लागि जोशिला र पेशेवर युवाहरूलाई अगाडि ल्याउनुपर्ने लेखेका छन्। “जसले देश चुसे, लुटे र बर्बाद गरे, उनीहरूसँग आत्मा नभएरै हामीजस्ता लाखौं नेपाली बाध्यताले विदेश गएका हौं, रहरले होइन।”
फेरि राजनीतिमा फर्किएका रवि, हर्क र आफूले विदेशी उज्यालो देखेर अन्धकार नेपालको लागि देश फर्किएको बताउँदै ढकालले सन्देशमा लेखेका छन्, “हामी राजनीतिले होइन, पसिनाले पेट पाल्ने युवाहरू हौं। अब हामीले नै देश बनाउनुपर्छ।”
उनले अन्त्यमा सबै युवालाई आ–आफ्नो ठाउँबाट सहयोग गर्न र पुराना राजनीतिक संस्कारबाट मुक्ति दिलाउन आग्रह गरेका छन्। हामीसँग जम्मा ३० वर्ष बाँकी छ देश बनाउने, त्यसैले अब हामी मिलेर अगाडि बढ्नुपर्छ।”


प्रकाशित मिति: २३ असार २०८२, सोमबार













प्रतिक्रिया