काठमाडौं । अछामको साँफेबगर–७ स्थित सञ्चालनमा रहेको बयालपाटा अस्पतालको सञ्चालन र व्यवस्थापन सुदूरपश्चिम प्रदेश सरकारले गर्ने भएको छ । आगामी भदौ १ गतेबाट अस्पतालको सञ्चालन र व्यवस्थापन प्रदेश सरकारले गर्ने भएको हो । यसअघि न्याय हेल्थ नेपाल नामक गैरसरकारी संस्थाको व्यवस्थापन र सञ्चालनमा रहेको अस्पतालको अब प्रदेश सरकारले गर्ने भएको हो ।
आइतबार प्रदेशको अस्थायी राजधानी धनगढीस्थित सामाजिक विकास मन्त्रालयमा द्विपक्षीय हस्तान्तरण र ग्रहणसम्बन्धी सम्झौता भएपछि मन्त्रालयको सहकार्यमा न्याय हेल्थले सञ्चालन गरिरहेको ५० शøयाको बयालपाटा अस्पताल अब प्रदेश सरकारले आफैँ गर्ने भएको हो । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रमको बुँदा नम्बर ६७ र बजेट वक्तव्यको बुँदा नम्बर १४५ मा बयालपाटा अस्पताल प्रदेश सरकारको मातहतमा ल्याई सञ्चालन गर्ने र सो का लागि बजेट विनियोजन गर्ने उल्लेख गरिएको थियो ।
बजेट वक्तव्यमा साउन १ देखि बयालपाटा अस्पताल आफ्नोमातहत सञ्चालन गर्ने घोषणा गरेको प्रदेश सरकारले आवश्यक तयारी नभएको भन्दै एक महिना थप व्यवस्थापन गरेर दिन न्याय हेल्थ नेपाललाई आग्रह गरेको थियो । सामाजिक विकास मन्त्रालयको आग्रहपछि न्याय हेल्थ नेपालको टिमले एक महिनाको कर्मचारीको तलब मन्त्रालयमार्फत नै कर्मचारीलाई दिने गरेर सहयोग गर्ने बताए पनि मन्त्रालयले रकम लिने कानुनी व्यवस्था नभएका कारण न्याय हेल्थलाई नै थप एक महिना अस्पताल सञ्चालन गरिदिन आग्रह गरेको थियो ।
अस्पतालले स्थापनादेखि नै सम्पूर्ण सेवा, सुविधा, औषधी, शल्यक्रिया र बिरामीका लागि खाना समेत निःशुल्क उपलब्ध गराउँदै आएको छ । अस्पतालले बर्सेनि सुदूरपश्चिम तथा कर्णाली प्रदेशका एक लाखभन्दा बढी नागरिकलाई निःशुल्क गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ । अस्पतालले हालसम्म १५ लाखभन्दा बढी नागरिकलाई स्वास्थ्य सेवा प्रदान गरिसकेको छ ।
प्रकाशित मिति: २४ असार २०८२, मंगलबार













प्रतिक्रिया