काठमाडौं । छ दशकपहिले निर्माण भएको जिल्ला कारागार कञ्चनपुरको भवन जीर्ण भएपछि कैदीबन्दी पालमुनि बस्न बाध्य भएका छन् ।
जीर्ण अवस्थामा रहेको जिल्ला कारागार कञ्चनपुरको भवन मर्मत र पुनर्निर्माणमा सम्बन्धित निकायले चासो नदिँदा कैदीबन्दी समस्यामा परेका हुन् ।
५० वर्षपहिलेदेखि सञ्चालनमा आएको कारागार भवन विगत एक दशकयता जीर्ण अवस्थामा रहेको छ । भवनको मर्मत र पुनर्निर्माणमा सम्बन्धित निकायले चासो नदिँदा वर्षायाममा पानी चुहिने समस्याले पाल टाँगेर बस्नुपर्ने बाध्यता रहेको कैदीबन्दीले गुनासो गरेका छन् ।
कारागारका नाइके टेकराज जोशीले भवन जीर्ण हुँदा वर्षायाममा पानी चुहिने समस्याले कैदीबन्दीलाई मर्का परेको बताए । उनले भने, “वर्षायाममा कैदीबन्दीलाई बस्न, सुत्न समस्या हुने गरेको छ । भवन जीर्ण अवस्थामा छ, कतिखेर छत तल खस्छ थाहा छैन ।”
निर्माणको बजेट फ्रिज
कारागार भवन निर्माणका लागि सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विनियोजन गरेको बजेट काम अगाडि नबढ्दा फ्रिज गएको छ । चालु आर्थिक वर्ष २०८१र८२ मा कञ्चनपुर कारागार भवन निर्माणका लागि भनेर छुट्याइएको ५० लाख रुपियाँ फ्रिज गएको हो । मन्त्रालयले निकासा नदिँदा बजेट नै फ्रिज गएको जिल्ला कारागार कञ्चनपुरका निमित्त जेलर रामदत्त जोशीले जानकारी दिए ।
प्रकाशित मिति: २४ असार २०८२, मंगलबार













प्रतिक्रिया