काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले पुर्‍याएको जनधन तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। उनले पीडितको उद्धार र राहत कार्यमा सरकारलाई तत्काल र प्रभावकारी रूपमा जुट्न आग्रह गर्दै आफ्ना पार्टीका नेता तथा कार्यकर्तालाई समेत सक्रिय सहभागिताको निर्देशन दिएका छन्।

मंगलबार बिहान आएको बाढीले नेपाल–चीन सीमास्थित मितेरी पुलसहित विभिन्न पूर्वाधारमा ठूलो क्षति पुर्‍याएकोप्रति सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै अध्यक्ष प्रचण्डले गम्भीर चिन्ता व्यक्त गरे। उनले लेखेका छन्, “भोटेकोशी बाढीबाट भएको जनधन तथा पूर्वाधार क्षतिप्रति म गहिरो दुःख व्यक्त गर्दछु।”

advertisement

प्राकृतिक विपद् व्यवस्थापनमा राज्यका सबै संयन्त्रलाई खटाउनुपर्ने आवश्यकता औंल्याउँदै प्रचण्डले भनेका छन्, “सरकारले यथाशीघ्र उद्धार, राहत तथा पुनःस्थापना कार्यमा सबै स्रोत, साधन र संरचना परिचालन गर्नुपर्छ।”

उनले मौसमविद्हरूको औसतभन्दा बढी वर्षा हुने चेतावनीलाई गम्भीर रूपमा लिएर विपद् जोखिम न्यूनीकरणका लागि पूर्वतयारी र सतर्कता अपनाउन पनि सरकारलाई सुझाव दिएका छन्।

यस संकटको बेला सबै राजनीतिक दल, राज्यका निकाय, संघसंस्था तथा आम नागरिक एकजुट भई राहत तथा पुनर्निर्माण कार्यमा जुट्नुपर्ने प्रचण्डको आग्रह छ। “एकताको भावना लिएर विपद् सामना गर्नसक्दा मात्रै हामी संकट पार गर्न सक्षम हुन्छौं,” उनले अपिल गरे।

प्रकाशित मिति: २४ असार २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com