काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोबिता गौतमले प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएको स्पेन भ्रमणको बहानामा गएका केही नेपाली अझै नफर्किएकोप्रति संसद्मा गम्भीर चिन्ता व्यक्त गरेकी छन्।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद गौतमले भिजिट भिसाको नाममा नेपालीलाई विदेश लैजाने गिरोह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मात्र नभई, विभिन्न अन्तर्राष्ट्रिय कार्यक्रमको आडमा पनि सक्रिय रहेको बताइन्।
उनका अनुसार, गत १४ असारमा संयुक्त राष्ट्रसंघअन्तर्गत ‘विकासका लागि वित्त’ विषयक चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली नेतृत्वको सरकारी टोली स्पेन गएको थियो। सो टोलीमा सहभागी भएकामध्ये केही व्यक्ति कार्यक्रम सकिएपछि नफर्किएको समाचारहरू सार्वजनिक भएका छन्।
“प्रधानमन्त्री ओली स्वयं सहभागी भएको कार्यक्रममा पनि यस्तो घटना हुनु अत्यन्त चिन्ताजनक हो,” गौतमले भनिन्, “यसले भिजिट भिसा दुरुपयोग प्रकरण झनै गम्भीर बनाएको छ।”
उनले भिजिट भिसाको गलत प्रयोग र मानव बेचबिखनजस्ता गतिविधि विरुद्ध रास्वपा दृढ रूपमा उभिएको स्पष्ट पारिन्।
“यो समस्या केवल विमानस्थलको मात्र होइन, कार्यक्रममा सहभागी हुने बहानामा नेपालीहरूलाई विदेश पठाउने सुनियोजित गिरोहसँग पनि सम्बन्धित छ,” उनले भनिन्।
गौतमले सरकारले संवेदनशील विषयमा गम्भीरता नदेखाएको आरोप पनि लगाइन्।
“हामी कसैलाई व्यक्ति विशेषको रूपमा आरोप लगाइरहेका छैनौं,” उनले भनिन्, “तर, यस्तो गम्भीर विषयमा सरकारले स्वार्थ बाझिने, अनुभवहीन र कनिष्ठ कर्मचारी राखेर बनाएको टालटुले समिति हाम्रो लागि स्वीकार्य छैन।”
उनले सरकारलाई उच्चस्तरीय, स्वतन्त्र र प्रभावकारी छानबिन समिति गठन गर्न पुनः आग्रह गर्दै भनिन्, “रास्वपाको स्पष्ट अडान छ—उच्चस्तरीय समिति अनिवार्य छ।”
प्रकाशित मिति: २४ असार २०८२, मंगलबार












प्रतिक्रिया